जेसिबी आयो, जिल्लाका चार स्थानीय तहमा धमाधम सडक निर्माण गरिने

६ बर्ष अघि

२0७५ जेष्ठ ४ शुक्रबार

जेसिबी आयो, जिल्लाका चार स्थानीय तहमा धमाधम सडक निर्माण गरिने

दृष्टिकोण समाचार, दार्चुला । दार्चुला जिल्लाका नौ वटा स्थानीय तह मध्ये चारवटा स्थानीय तहहरुले सडक निर्माणका लागि आफ्नै बजेटले जेसीबी खरिद गरी जिल्लामा भित्र्याई सकेका छन् । हालसम्म दार्चुला जिल्लाका मालिकार्जुन, मार्मा, नौगाड र दुहुँ गाउँपालिकाले टेण्डर प्रक्रिया मार्फत जेसिबी खरिद गरी बैशाख अन्तिम साता मेसिन जिल्ला भित्र्याइएका हुन् । मालिकार्जुन, नौगाड र मार्मा गाउँपालिकामा जेसिबीले सडक निर्माणको काम थाली सकेको छ भने केही दिनमै दुहुँ गाउँपालिकाले पनि मेसिन पालिकामा पु¥याउदै छ ।  
मालिकार्जुन गाउँपालिका
मालिकार्जुन गाउँपालिकाले १ करोड १५ लाख रुपैँयाको लागतमा जेसिबी गाउँपालिकामा पु¥याएको छ । गाउँपालिकाका उपाध्यक्ष मेनका अवस्थीले बुधबार जेसिबीको उद्घाटन गरी सडक निर्माणको काम थालेको बताउनु भयो । मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक बर्षमा जौलजिबी पस्ती सडक खण्ड र ऐरिछाना हुनैनाथ डाडाकोट सडक निर्माण गर्ने उपाध्यक्ष मेनका अवस्थीले बताउनु भयो । मालिकार्जुन गाउँपालिकाले गाउँपालिका भरी झण्डै दुई दर्जन सडकहरुको लिष्ट तयार गरी तीन चरणमा निर्माण गर्ने गाउँपालिकाको यातायात नीति रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताउनु भयो । अहिले १० वटा सडकहरुको डिपीआर समेत गरिएको छ । 
मार्मा गाउँपालिका 
मार्मा गाउँपालिकामा सबभन्दा महंगोमा जेसिबी पुगेको छ । गाउँपालिकाले गरेको टेण्डर मार्फत १ करोड १७ लाख रुपैँयामा जेसिबी खरिद गरिएको गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनु भयो । मार्मा गाउँपालिकाले पनि चालु आर्थिक बर्ष भित्र पारिबगड गुल्जर सडक र लटिनाथ सार्सी बजानी सडक खण्डमा काम गर्नेछ । अन्य क्षेत्रमा पनि सडक सर्भे गरिएका छन् । 
नौगाड गाउँपालिका
नौगाड गाउँपालिकाले पनि टेण्डर प्रक्रिया मार्फत जेसिबी खरिद गरी गाउँपालिकामा मेसिन पु¥याइ सकेको छ । १ करोड १५ लाख ५५ हजार रुपैँयाको लागतमा जेसिबी नौगाड गाउँपालिकामा पुगेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनु भयो । नौगाड गाउँपालिकामा सबभन्दा बढी सडक निर्माणको काम भईरहेको छ । जामिर इयरकोट, सामपाङ सडक, होपरी सिप्टी तपोवन सडक, सुकाखोला, पनढुङ्गा सडक, दल्लेख गोधानी र दल्लेख नागु सडक चालु आर्थिक बर्षको प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । 
दुहुँ गाउँपालिका 
दार्चुलाको उत्तरी क्षेत्रमा रहेको दुहँु गाउँपालिकामा पनि चालु आर्थिक बर्ष भित्रै १ करोड १७ लाख रुपैँयाको लागतमा जेसिबी खरिद गरिएको छ । जेसिबी दार्चुला सदरमुकाम खलंगामा आइपुगेको छ । उक्त मेसिन महाकाली नदिमा बन्न लागेको तटबन्धको कारणले बाटो प्रभावित हुँदा गाउँपालिकामा पुग्न नसकेको र छिट्टै मेसिन गाउँपालिकामा पुगेर काम गर्ने दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनु भयो । दुहुँ गाउँपालिकाले पनि चालु आर्थिक बर्षमा जोशीगाउँ बोहरीगाउँ बारबाँज फारा सडक र हिकिला सिद्धटोपी सडक खण्ड निर्माण गर्ने बताएको छ । 
यो बाहेक जिल्लाका अन्य पाँच गाउँपालिका पनि जेसिबी खरिद गर्ने प्रक्रियामा रहेका छन् । स्थानीय तह निर्माण भएपश्चात सबैजसो स्थानीय तहले सडकलाई नै विकासको पहिलो प्राथमिकतामा राखेर नीति निर्माण गरेका छन् । त्यसकै लागि स्थानीय तहहरुले आफ्नै लगानीमा जेसिबी पनि खरिद गरेका हुन् ।