उपभोक्ता ठग्दै दार्चुलाका व्यापारी, कार्वाही हुने कहिले ?

६ बर्ष अघि

२0७५ जेष्ठ २ बुधबार

उपभोक्ता ठग्दै दार्चुलाका व्यापारी, कार्वाही हुने कहिले ?

दृष्टिकोण समाचार, दार्चुला ।  जेठ महिनाको एक गते दार्चुला बजार अनुगमन गरिएको छ । बजार अनुगमन समितिका अध्यक्ष समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीको टोलीले महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगा बजारका दुई दर्जन बढी पशलहरुमा अनुगमन गर्दा आधादर्जन बढी पशलहरुमा म्याद नाघेका सामानहरु राखेको पाईयो ।
म्याद नाघेका जंङ्क फुड, खानेतेल, विभिन्न पेय पदार्थ भारतीय सामानहरु विक्रि गर्नका लागि राखेको पाईएपछि ती बस्तुहरु जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएका छन् । त्यस्तै बजार अनुगमनका क्रममा होटेल तथा रेष्टुरेन्टहरुमा सरसफाईको अवस्था सुधार गर्नु पर्ने, मूल्यसूचि अध्यावधिक गर्नुपर्ने, सबैले देख्ने गरि आफ्नो प्रमाण पत्र पनि राख्ने लगायतका सुझाव दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो । 
बजार अनुगमन गर्न सुरु गर्ने वितिक्कै बजार भरी हल्ला फैलीने गरेको र व्यापारीहरु अनुगमन टोली नआइपुग्दै सचेत भईसक्ने गरेको गुनासो पनि स्थानीयले गर्ने गरेका छन् । त्यसैगरी म्याद नाघेका सडेगलेका सामाग्रीहरु बरामद गरी जलाउने बाहेक त्यस्ता व्यापारीहरुलाई कानुनी कार्वाहीको दायरामा नल्याउँदा उपभोक्ता मैत्री बजारीकरण नहुने उपभोक्तहित संरक्षण मञ्चले बताएको छ । 
बजार मूल्यमा एकरुपता ल्याउनु, कालोबजारी कम गर्नु, उपभोक्ताले ताजा र मनपरेको समान सजह रुपमा खरिद गर्न पाउने बातावरण मिलाउनु सकेमा दार्चुला बजार व्यवस्थापनमा कठिनाइ नरहेको पनि व्यापारीहरुले नै बताएका छन् ।