दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुग्यो, कुन बैंककाे शाखा कुन तहमा ?

५ बर्ष अघि

२0७५ पुष २९ आईतवार

दार्चुलाका सबै स्थानीय तहमा  बैंकिङ  सुविधा पुग्यो, कुन बैंककाे शाखा कुन तहमा ?


सुलोचना महता, पुस २९ दार्चुला । दार्चुला जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ । नेपाल सरकारले नयाँ संरचना अनुसार देशमा रहेका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार झण्डै डेढ वर्षको अवधिमा दार्चुलाका नौ वटै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको हो ।  जिल्लाको सबैभन्दा विकट क्षेत्र व्यासँ र अपिहिमाल गाउँपालिकामा माछापुच्छ्रे बैंक, दुहुँ गाउँपालिका इन्भेष्टमेन्ट बैंक, मालिकार्जुन गाउँपालिकामा माछापुच्छ्रे बैंक, लेकम गाउँपालिकामा लक्ष्मी बैंक र मार्मा गाउँपालिकामा सनराइज बैंक, नौगाड गाउँपालिकामा जनता बैंक, शैल्यशिखर नगरपालिकामा महालक्ष्मी, मेघा र जनता बैंकका शाखा स्थापना भएका छन् । सदरमुकाम स्थित महाकाली नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक लगायतका अन्य बैंकका शाखा  रहनुको साथै  कृषि विकास बैंक लगायतका शाखाहरुबाट पनि बैंकिङ कारोबार भइरहेका छन् । 
सरकारले वि.सं. २०७४ साल साउन महिनामा देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गरी सहज रुपमा स्थानीयलाई बैंकिङ सेवा उपलब्ध गराउने भने पनि दार्चुला बासीले डेढ वर्ष पछिमात्र घर देलोबाट बैंकिङ सेवा लिन सकेका छन् । बैंकका शाखा स्थापना भएसँगै जिल्ला सदरमुकामका बैंकहरुमा आर्थिक कारोबार घटेको छ । साथै स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयले सदरमुकाम आउनु परेको बाध्यता हटेकाे हुदाँ सबै खुसी भएका छन् ।