आज क्रिसमसडे, विविध कार्यक्रम गरी मनाइँदै

५ बर्ष अघि

२0७५ पुष १0 मंगलवार

आज क्रिसमसडे, विविध कार्यक्रम गरी मनाइँदै

दृष्टिकोण समाचार पुस १० ।आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव ।  क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ ।दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । ०६४ अघिसम्म क्रिसमसडे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ ।क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, बौद्धमा कार्यक्रम हुने गरेको छ ।क्रिसमस ट्रीलगायतका सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ ।क्रिसमसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् सरकारले ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गरेकोमा गत वर्षबाट कटौती गरेको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने आजको दिन बिदा पाउँछन् ।