दृष्टिीकोण समाचार,पुस ७ दार्चुला । दार्चुला जिल्ला जोड्ने एकमात्र चमेलिया नदीमाथिको मुख्य मोटरेबल पक्की पुल जीर्ण हुँदै गएको छ ।आर्थिक वर्ष २०५९/६० मा बनेको त्यो पुल जीर्ण बन्दै गएको स्थानीयबासिन्दाहरुले बताएका छन् । बैतडी र दार्चुला जिल्ला जोड्ने मुख्य पुलको रुपमा रहेको चमेलिया पुल जीर्ण बनेको डिलाशैनी गाउँपालिका वडा न ६ गोकुलेश्वरका सुरेश श्रेष्ठले बताउनुभयो ।दार्चुला जिल्लालाई राष्ट्रिय राजमार्गको पहुँचमा पुर्याउने एक मात्र चमेलिया पुल भएको उहाँले बताउनुभयो । यो पुुलको बीचमा खाल्डाखुल्डी परेर जीर्ण भइसकेको छ ।बैतडीका नागरिकले दार्चुला जाने र दार्चुलाका नागरिकले बैतडीले आउने चमेलिया पुल मुख्य पुल भएको भए पनि जीर्णोद्धारका लागि कसैले पहल नगरेको स्थानीयवासीको गुनासो छ । दार्चुलालाई सडक सञ्जालसँग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण गरिएको थियो ।१६ वर्ष अघि निर्माण पुरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचनाहरु कमर बन्दै गएका छन् । निर्माण पश्चात एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ । त्यसबाहेक सरोकारवाला पक्षले पुलको संरक्षणका लागि केही पहल नगरेको गोकुलेश्वरका व्यापारी देव बिष्टले बताउनुभयो ।पुलको क्षमताभन्दा बढी लोड भएका सवारी साधन सञ्चालन हुनु, पुलको बीचबाटै नालीको पानी बगाउनु लगायतका कारणले पुल जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सब इञ्जिनियर योगेन्द्र स्वाँरले बताउनुभयो ।चमेलिया पुलको चालु आर्थिक वर्षमा मर्मत सम्भारका लागि स्टमेट तयार भइरहको सब इञ्जिनियर स्वाँरले बताउनुभयो । दार्चुलाको मुख्य प्रवेशद्वारका रुपमा रहेको पुलबाट दैनिक दुई सयभन्दा बढी सवारी साधनहरु चल्ने गर्दछन् ।