शैक्षिक भ्रमण फकिदैँ गरेकाे बस दुर्घटना अपडेटः २२ मृत्यु

५ बर्ष अघि

२0७५ पुष ७ शनिबार

शैक्षिक भ्रमण फकिदैँ गरेकाे बस दुर्घटना अपडेटः २२  मृत्यु

दृष्टिकोण समाचार पुस ६ । दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । घाइते १५ जनामध्ये ११ को अवस्था गम्भीर छ । मृतकमध्ये पाँच जनाको मात्र सनाखत भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताउनु भएकाे छ । बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् ।

मृतक र घाइते सबै घोराही उपमहानगरपालिका वडानम्बर १७ मा अवस्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन् । घाइते सबैलाई अञ्चल अस्पताल तुलसीपुरबाट थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ । धेरैजसोको टाउको र मेरुदण्डमा चोट लागेको छ । घाइते हुनेमा ११ जनाको अवस्था गम्भीर छ  भने ४ जनाको अवस्था केही सुधार आएको रिपोर्ट आएको जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले बताउनु भयाे । शवहरु अञ्चल अस्पताल तुलसीपुरमा राखेर  पोष्टमार्टम गर्दै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ‍‍‍दाङले जनाएकाे छ ।  बा ४ ख ९७६६ नम्बरको बसमा शिक्षालयका ३४ जना विद्यार्थी, दुईजना शिक्षक र एक चालक गरी ३७ जना थिए । शैक्षिक भ्रमणका लागि सल्यानको कपुरकोटस्थित वनस्पति उद्यानमा गएका थिए । भ्रमणबाट फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो । ओरालो घुम्ती बाटो किनारका रेलिङ र रुखसमेत भाँचेर करिब सात सय मिटर तल बस खसेको छ ।