ट्रम्पप्रति असहमति जनाउँदै अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

५ बर्ष अघि

२0७५ पुष ६ शुक्रबार

ट्रम्पप्रति असहमति जनाउँदै अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

दृष्टिकोण समाचार पुस ६ दार्चुला । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले अकस्मात पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएका हुन् ।म्याटिस सिरियामा तैनाथ करिब २ हजार सैनिकलाई फर्काउन नहुने पक्षमा थिए । तर, ट्रम्पले त्यहाँ आईएस परास्त भएको भन्दै सैनिक फिर्ता थाल्ने घोषणा गरेका थिए । लगत्तै ट्रम्पसँग रुष्ट बनेका म्याटिसले पदबाट राजीनामा दिएका हुन् ।म्याटिसले बुझाएको राजीनामा पत्रमा विचार मिल्ने क्षमतावान व्यक्तिलाई रक्षा मन्त्री बनाउने अधिकार राष्ट्रपतिसँग रहेको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
उनले पत्रमा मित्र शक्तिहरुसँग सम्मानपूर्वक व्यवहार गर्ने बताएका छन् । साझा रक्षाका लागि अमेरिकी क्षमताको सम्पूर्ण संशोधन प्रयोग गर्ने वचन पनि उनले दिएका छन् ।ट्रम्पले बिहीबार म्याटिसले राजीनामा दिएको सार्वजनिक गर्दै फेब्रुअरीको अन्त्यबाट त्यो लागू हुने बताएका छन् ।ट्रम्पले सम्मानका साथ जिम्मेवारीबाट अवकास हुन लागेको भन्दै ट्वीटरमार्फत् उनलाई धन्यवादसमेत दिएका छन् । ‘मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न गरेको सहयोगप्रति म धन्यवाद दिन चाहन्छु’, ट्रम्पले ट्वीट गरेका छन् ।म्याटिसले ट्रम्पले प्रशासन सुरु भएदेखि नै रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनलाई ट्रम्प मन्त्रिपरिषद्को स्थिर तथा स्वतन्त्र सदस्यका रुपमा लिने गरिन्थ्यो । स्वयं ट्रम्पले समेत एक टेलिभिजन वार्तामा उनी डेमोक्र्याटजस्तो देखिएको भन्दै बिदा दिन सकिने बताएका थिए ।
ट्रम्प प्रशासनबाट एकपछि अर्का जिम्मेवार व्यक्ति बाहिरिने सिलसिला चलिरहेका बेला म्याटिस पछिल्लो पात्र बनेका छन् ।  रक्षा मन्त्रीको यो राजीनामालाई ट्रम्पमाथिको अर्को झड्काका रुपमा विश्लेषण गरिएको छ ।
म्याटिसले सम्हाल्दै आएको जिम्मेवारीमा को आउँछन् भन्ने निश्चित भएको छैन । ट्रम्पले छिट्टै यसबारे निर्णय लिने बताएका छन् ।