दार्चुलाको झण्डै ६० प्रतिशत जनसंख्या सञ्चार पहुँचमा

५ बर्ष अघि

२0७५ पुष ४ बुधबार

दार्चुलाको झण्डै ६० प्रतिशत जनसंख्या सञ्चार पहुँचमा

ललित सामन्त, पुस ४ दार्चुला । दार्चुलाको ६० प्रतिशत जनसंख्याले फोन प्रयोग गरिरहेका छन् । २०६८ सालको जनगणना अनुसार दार्चुलाको कुल जनसंख्या १ लाख ३३ हजार ४ सय ४७ रहेकोमा नेपाल टेलीकमले विस्तार गरेको लेण्डलाईन, सीडिएमए र जिएसएम प्रविधिको फोन प्रयोग गर्नेको कुल संख्या ७७ हजार १ सय ४ जना रहेका छन् । नेपाल टेलीकमको सेवा मात्रै प्रयोग गर्नेको संख्या हेर्दा जिल्लाको कुल जनसंख्याको ५७ दशमलब ७७ प्रतिशत हुन आउँछ । यो भन्दा बाहेक दार्चुला जिल्लामा सञ्चालित एनसेल, हलो नेपाल तथा भारतीय सञ्चार एयरटेल विएसइनएल लगायतको नेटवर्क प्रयोगकर्ता पनि जोड्दा झण्डै ६० प्रतिशत जनसंख्याले सञ्चार सुविधा लिएका छन् ।
नेपाल टेलीकम दार्चुला शाखाको तथ्याङ्क अनुसार हाल दार्चुलामा सिडिएमए पोष्टपेड प्रयोगकर्ता ८ सय ५६ जना रहेका छन् । यस्तै सिडिएमए प्रिपेड ३३ हजार ८ सय ५६ जना, जिएसएम पोष्टपेड प्रयोगकर्ता १ सय ३२ जना जीएसएम प्रिपेड प्रयोगकर्ता ४२ हजार १ सय ४४ जना र लेडलाईन प्रयोगकर्ता ५ सय ५६ जना गरि जम्मा ७७ हजार १ सय ४ जना ग्राहक रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । यसबाहेक दार्चुला जिल्लामा ६ सय ३२ ग्राहकले इन्टरनेट प्रयोग गरिरहेको नेपाल टेलीकम दार्चुलाका टेक्नीकल प्रमुख दुर्गा बस्यालले बताउनु भयो । 
हाल दार्चुला जिल्लामा नेपाल टेलिकमका १८ वटा रहेका छन् । नेपाल टेलिकमले अझै चालु आर्थिक वर्षमा ७ वटा नयाँ टावर निर्माण गरिरहेको छ । चालु आवमा दुहँु गाउँपालिकाको दम्दाकोट, नौगाड गाउँपालिकाको खार दल्लेक, मालिकार्जुन गाउँपालिकाको शंकरपुर पस्ती र ऐरीछाना, लेकम गाउँपालिकाको कुचाकोट, मार्मा गाउँपालिकाको तपोवन, व्यासँ गाउँपालिकाको राप्ला, र नौगाड गाउँपालिकाको सिप्टीमा नयाँ टावर राखिने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । साथै दार्चुला जिल्लाको मुख्य रिपीटर टावर मालिकार्जुन गाउँपालिका २ बालशिखरमा विद्युत् प्रशारण लाइन निर्माणको काम भईरहेको टेलीकमले जनाएको छ ।