दार्चुलामा स्याउ जोन परियोजना ः सरोकारवालासँग छलफल

५ बर्ष अघि

२0७५ पुष ३ मंगलवार

दार्चुलामा स्याउ जोन परियोजना ः सरोकारवालासँग छलफल

दृष्टिकोण समाचार, पौस ३ दार्चुला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ स्याउ जोन कार्यक्रम दार्चुलाले मंगलबार दार्चुलामा सरोकारवालाहरुबीच परियोजना अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।  २०७२ सालबाट सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विस २०८२ सम्म सञ्चालन हुनेछ । देशभरी ६९ वटा जोन र १४ वटा सुपरजोन तोकेर कृषि क्षेत्रमा विभिन्न कार्यक्रम गरिनेछ । दार्चुला जिल्लामा भने २०७५ साल असोजबाट मात्रै कार्यक्रम लागु भएको हो । दार्चुला जिल्लाका व्याँस, दुहूँ, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकालाई समेटेर स्याउ खेतीका लागि स्याउ जोन निर्माण गरि दार्चुला जिल्लामा ५ सय हेक्टर क्षेत्रमा कार्यक्रम लागु हुनेछ । 
दार्चुला जिल्लामा सुरु भएको स्याउ जोन कार्यक्रमका बारेमा निमित्त बरिष्ठ कृषि विकास अधिकृत बिष्णुप्रसाद ओझाले कार्यक्रमको सम्भावना, अवसर र चुनौतीका बारेमा जानकारी गराएका छन् । कार्यक्रम अन्तरगत कृषि उद्यमी तथा कृषि सहकारीहरुको साझेदारीमा नौ सदस्यीय जोन सञ्चालक समिति गठन गरिनेछ । दार्चुला जिल्लमा भने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम दुई बर्ष पछि मात्रै लागु भएको छ । दार्चुला जिल्लामा स्याउ जोन कार्यक्रमका लागि कुल बजेट १ करोड २३ लाख ४९ हजार रहेको छ । कार्यक्रम अन्तरगत भकारो सुधार, लक्षित बालीको बजारीकरणका लागि अनुदान, बढी घनत्व अन्तरगत बगैँचा स्थापना, र उन्नत जातका स्याउका विरुवा वितरण गर्ने कार्यक्रम रहेका छन् । त्यसका अतिरिक्त उच्च प्रविधियुक्त नर्सरी निर्माण, साना सिंचाइ निर्माण र साना मेसिनेरी औजार अनुदान सहयोग वितरण गरिनेछन् । 
जिल्ला समन्वय समितिका सदस्य सन्तोष दयालीको अध्यक्षतामा भएको गोष्ठिमा जिल्लाका विभिन्न गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी, कृषक तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।