निर्मला हत्या प्रकरणः काठमाडौंबाट समातिएका व्यक्तिको बयान जारी

५ बर्ष अघि

२0७५ मंसिर २0 बिहीबार

निर्मला हत्या प्रकरणः काठमाडौंबाट समातिएका व्यक्तिको बयान जारी

दृष्टिीकोण समाचार मंसिर २० । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा संलग्न भएको आरोपमा काठमाडौँंबाट समातिएका व्यक्तिको बयान जारी छ ।महाराजगञ्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को कार्यालयमा भीमदत्तनगर-१८ का प्रदीप रावलको बयान लिने काम भइरहेको हो ।प्रहरीले उनलाई केही अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । उनलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको थियो ।‘पहिले प्राविधिक भेरिफिकेसनविना दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दा भएको समस्याबाट हामी सचेत छौं’, प्रहरी प्रन कार्यालयका एक अधिकारीले भने, ‘त्यसैले अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर सोधपुछ गरिरहेका छौं ।’सीआईबी स्रोतका अनुसार बिहीबार साँझ ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले रावलबारे बिफ्रिङ गरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आफैं पनि ब्यूरो पुगेका थिए ।‘यहाँ आईजी सा’ब आफैंले पनि बयान लिनु भयो । त्यहाँ उहाँले विश्वास गरेका प्रहरी अधिकारी मात्रै थिए’, स्रोतले भन्यो, ‘मध्यराति उहाँ बाहिरिनु भएको थियो । त्यसपछि बिहीबार बिहानदेखि फेरि बयान लिने काम सुरु भएको छ ।’यद्यपि, अहिलेसम्म घटनामा महत्वपूर्ण ‘क्लू’ भने हात परिनसकेको स्रोतको भनाइ छ । ब्यूरोका एक अधिकारी भन्छन्, ‘हामीले घटनामा उनको संलग्नताको आशंकामा डीएनए परीक्षणका लागि पठाएका छौं । अब नतिजा रिपोर्टमै भर गर्छ ।’अनुसन्धान अधिकारीहरुका अनुसार रावल यसअघि पन्तको शव भेटिएको भोलिपल्टै भारततिर गएका थिए । पछिल्लो समय उनलाई काठमाडौंमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।हाल घटनाको अनुसन्धानका लागि कञ्चनपुरमा विभिन्न टोली सक्रिय छ । सीआईबीका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदी पनि घटनाको अनुसन्धानका क्रममा कञ्चनपुरमै छन् ।कञ्चनपुरमा रहेको टोलीले त्यहाँबाट पनि केही व्यक्तिलाई नियन्त्रणमा लिएको स्रोतको भनाइ छ ।