१५ वैशाख, काठमाडौं । मोमिला अर्थात् ठक्करै ठक्करकी खाएकी एउटी सर्जक । यिनै ठक्करहरुका कारण हुन सक्छ, मोमिलामा एउटा अनौठो स्वभाव छ । उनी कुरा गर्दागर्दै आँसु छचल्काउँछिन् र अट्टाहस हाँस्न पनि सक्छिन् ।
मोमिला कविता वा निबन्ध लेख्दिनन्, उनीबाट ती निःसृत हुन्छन् । उनका निबन्ध, कविता र उनका कुरा आफैंमा बुझ्न गाह्रो अमूर्त चित्रजस्ता लाग्छन् ।
मोमिलामाथि लेख्न चाहने सबै पत्रकारको अनुभव छ, मोमिलाका बारेमा लेख्न बस्दा निकैबेर गम खानुपर्छ । किनभने, मोमिलाको जीवन अन्य मानिसको जस्तो सजिलो छैन । न त सरल रेखामा हिँडेको कथाजस्तो उनको जीवनीमा आदि, मध्य र अन्त्य नै छ ।
यस्तै जटिल कवि एवं निवन्धकार मोमिलासँग गएको साता अनलाइनखवरले उनका यिनै अप्ठ्यारा जीवनका विषयमा कुरा गर्न चाह्यो र सोध्यो– ‘तपाईंका विषयमा लेख्न सकिने सबैभन्दा सरल कुरा के हो ?’
उनले हाँस्दै भनिन्– ‘जीवन सरल नै कहाँ छ र ? जीवन भनेको बक्ररेखा त हो ।’
पेसाले नेपाली भाषा शिक्षक मोमिला कुनै पनि प्रश्नको धाराप्रवाह र लामा उत्तर दिन चाहन्छिन् । यसपटक भने उनलाई छोटा उत्तर दिन आग्रह गरियो ।
कुनै पनि प्रश्नको उनीसँग छोटोमीठो र सरल उत्तर नै छैनन् जस्तो लाग्छ । उनी भन्छिन्, ‘किनभने जीवन सोचेजस्तो छोटोमीठो र सरल छैन, तैपनि म छोटो हुने प्रयास गर्छु ।’
मोमिलाका ४ कवितासंग्रह र १ निबन्धसंग्रह प्रकाशित छन् । उनी नेपाली कलासाहित्य डटकमकी प्रकाशक–सम्पादक पनि हुन् ।
मोमिला पछाडि थर झुण्ड्याउन नचाहनुको कारण के हो ?
किनकि मोमिला सबैभन्दा पहिले मान्छे हो । उसको अर्को कुनै जात छैन । फेरि मलाई पारिजात नाम साह्रै मन पर्दथ्यो । थर अलग्याउनुको कारण पारिजातजस्तै नाम प्रिय भएर पनि हो ।
थर राख्न नचाहनुको अन्य कुनै कारण छैन भन्नुभएको हो ?
धनकुटामा मेरा बुवा प्रख्यात हुनुहुन्थ्यो, सिद्धिप्रसाद जोशी । उहाँ गीतकार हुनुहुन्थ्यो । बाद्यवादक हुनुहुन्थ्यो । मूर्तिकार हुनुहुन्थ्यो । गायक हुनुहुन्थ्यो । यति प्रशिद्ध व्यक्तिको थर झुण्डाउन नचाहनुको कारण केही पनि छैन ।
मेरा तीन दाजुहरुमध्ये कोही पनि सिर्जनामा हुनुहुन्न । छिटपुटबाहेक दिदी पनि सिर्जनामा हुनुहुन्न । बुवाकै कारण म यो क्षेत्रमा आएकी छु । त्यसैले थर नझुण्ड्याउनुमा अन्य कुनै आकर्षण या विकर्षणसँग सम्बन्धित कारण छैन ।
तर, महिलाले श्रीमानको समेत थर राख्छन् नि ?
त्यो सम्बन्ध दुर्घटित भएको धेरै समय भयो । उसो त मैले कहिल्यै पनि थर झुड्याउने मोह राखिनँ । सुरुदेखि नै मेरा सिर्जनामा मोमिला मात्रै छ ।
मोमिला आजकी चर्चित कवि, निबन्धकार हुनुमा कुन कुराले काम गरेको छ ?
बुुवाकै प्रभाव हो । म ५ वर्ष ५ महिनाकी हुँदा जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम हुने अवसर प्राप्त गरेकी थिएँ । नृत्य प्रतियोगितामा पनि प्रायः प्रथम नै हुन्थेँ । कला, संगीत र साहित्य तीनवटै क्षेत्रमा मेरो रुचि थियो ।
साहित्यिक क्षेत्रमा हरेक लेखकले साहित्यिक दुर्घटना बेहोर्नु परिरहेको छ । पाउनुपर्ने पुस्तकले पुरस्कार नपाउने, छापिनुपर्ने मानिसका रचना नछापिने, कुनै गुटमा नभएका लेखकले सिर्जनात्मक साथी र रचनात्मक सुझाव नपाउने कुरा धेरै छन्
खासमा म लतिलकला पढ्नका लागि काठमाडौं आउन चाहन्थेँ । तर, जीवन कहाँ त्यति सजिलै सरल रेखामा हिँड्छ र ? त्यो सपना अधूरै रह्यो । पछि काठमाडौं आएपछि जीवनले बक्ररेखा पक्रियो ।
जीवनमा तपाईं अन्त्यन्तै विद्रोही देखिनुहुन्छ । यसरी विद्रोही हुनुका पछाडि कारण केके छन् ?
म मूलतः तीनवटा कारण देख्छु । राजनीतिमा जस्तो मेरो जीवन बक्ररेखामा हिँड्नुका पछाडि व्यक्तिगत, सामाजिक, प्राज्ञिक तथा साहित्यिक कारण छन् ।
पहिलो व्यक्तिगत कारणतिर जाऊँ । कुनकुन व्यक्तिगत कारणले तपाईंको जीवन यस्तो भयो ?
हामी अनौठो अवोध परिवेशमा हुर्किएका थियौं । घरका बाहेक बाहिरका कुनै लोग्ने मानिसले छोयो भने गर्भवती भइन्छ भन्ने लाग्थ्यो । यही कारण घर बाहिरका लोग्ने मान्छेसँग उठबस गर्ने कल्पना गर्न पनि सकिन्नथ्यो । हाम्रा धर्मशास्त्रहरुमा कुन्तीलाई सूर्यले स्पर्श गरेर कर्ण जन्माएको कथा छ । ऋषि पत्नीहरुले कामदेवको वीर्य पतन भएको स्थानमा आगो ताप्दा गर्भवती भएको प्रसङ्ग छ । यसले मलाई गहिरो प्रभाव पारेको थियो ।
तर, एसएलसीपछि एकजना पुरुषसँग म नजिक थिएँ । उनी मलाई प्रेम गर्थे । तर, म भौतिकरूपमा टाढा रहन चाहन्थेँ । पछि पुरुषले छोयो भने गर्भवती भइन्छ भन्ने भयसँगै मर्यादाको सम्मान गर्दै मैले विवाह गरेँ ।
यसरी सुरुमै जीवनलाई सुन्दर बनाउन होइन कि भय र मर्यादाका नाममा अज्ञानतामै मैले जीवनको नयाँ अध्याय सुरु गरेँ । जब जीवनको जग फरक ठाउँमा राखिन्छ, त्यो कमजोर हुन्छ । मेरो आजको जीवन जे छ, त्यो एउटा कारण हो ।