व्यासँ गाउँपालिका वाड नम्बर १ को सार्वजनिक सुनुवाई सम्पन्न 

५ बर्ष अघि

२0७५ मंसिर १४ शुक्रबार

व्यासँ गाउँपालिका वाड नम्बर १ को सार्वजनिक सुनुवाई सम्पन्न 


सुलाेचना महता मंसिर १४, दार्चुला । 
दार्चुला जिल्लाको व्यासँ गाउँपालिका वाड नम्बर १ को गत आर्थिक वर्ष २०७४÷०७५ को अन्तिम चौमासिक र चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चौमासिक अवधिमा वडा कार्यालयबाट भएको कार्यक्रम तथा सेवा सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । व्यासँ गाउँपालिका वाड नम्बर १ ले आयोजना गरेको कार्यक्रममा सहजीकरण मिडिया विकास समाज दार्चुलाले गरेकोमा अस्थायी वडा कार्यालय छाङरु स्थित सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । व्यासँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिँह बोहराको अध्यक्षतामा भएको कार्यक्रममा व्यासँ गाउँपालिका वडा नम्बर १ का सचिव विनोद सिँह बुढाथोकी, सरोकारवाला, सञ्चारकर्मी लगायत ब्यासँ गाउँपालिका वडा नम्बर १ का स्थानीयहरुको सहभागिता थियो । कार्यक्रम खास गरी गत आव को अन्तिम चौमासीक र चालु आवको प्रथम चौमासिकमा वडा कार्यालयले दिएको सेवा सुविधा र सेवा सुविधा दिएपछि स्थानीय बासीले महशुस गरेको विषयलाई मुल आधार बनाइएको थियो । वडा कार्यालयले गत आव को अन्तिम चौमासीक र चालु आवको प्रथम चौमासिकमा सम्म लक्ष्य लिएको आम्दानी, पुँजीगत खर्च, विकास खर्च लगायत चालु आवमा रहेको  छलफलको मुल एजेण्डा रहेकोमा उक्त विषय सम्बन्धी प्रस्तुती व्यासँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिँह बोहरा गर्नु भएको थियो । व्यासँ गाउँपालिका वडा नम्बर १ मा गत आर्थिक वर्ष सम्म २३ वटा योजना र ८ वटा कार्यक्रम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा १२ योजना र १२ कार्यक्रम व्यासँ गाउँपालिका वडा नम्बर १ ले गर्ने भएको छ । कार्यक्रममा व्यासँगाउँपालिका वाड नम्बर १ ले गत वर्षमा ३ लाख २२ हजार ९ सय १८ रुपैँया राजश्व संकलन गर्नुका साथै प्रथम चौमासिकमा ३ हजार ६ सय ४५ रुपैँया राजश्व संकलन गरेको व्यासँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अशोक सिँह बोहराले जानकारी दिनु भयो । साथै जवाफदेही व्यासँ गाउँपालिका वडा नम्बर १ का वडा सचिव विनोद सिँह बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रममा सहभागी मध्ये ३ जनाले सेवा सम्बन्धी, विकास निमार्णका कार्य लगायत वडा कार्यालयले गर्ने कार्य स्थानीयलाई जानकारी हुनु पर्ने जस्ता विषयमा जिज्ञासा तथा सुझावहरु आएको थियो । उक्त जिज्ञासा तथा सुझावहरु सम्बन्धमा व्यासँ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बोहराले थप सम्बोधन गर्नुका साथै स्थानीयले चासो राख्नु पर्ने बताउनु भयो ।