आर्थिक समृद्धिका लागि विकास निर्माण हुनु जरुरी छ, तपाईको गाउँपालिकाको अवस्था कस्तो छ ?
दुर्गम भन्ने वित्तिकै आफै पनि अनुमान गर्नुस कि त्यस क्षेत्रमा विकास निर्माणको अवस्था कस्तो होला । विकास निर्माणलाई दुई तवरबाट हेरिएको छ । एउटा आन्तरिक र अर्को बाह्य अर्थात भौतिक विकास । अब आन्तरिक तर्फ कर्मचारी देखि लिएर हाम्रा प्रतिनिधी तथा जनताको सोचाइ परिवर्तन हुनु पर्छ । अर्थात चेतना विकास सोचको विकास हुुनु पर्छ भन्ने तरिकाले बजेटीङ गरिएको छ । अब भौतिक विकासको लागि सडक पहिलो प्राथमिकता हो त्यसको लागि हामीले केन्द्र सरकारलाई नै बढी घचघच्याउने काम गरेका छौँ । र अन्य विकास पुल पुलेसा बाटोघाँटो लगायतमा हामीले यसपाली त्यति महत्व दिएका छैनौँ । त्यसका विभिन्न कारणहरु छन । यसको कारण भनेको अपिहिमाल गाउँपालिका भौगोलिक रुपमा निकै कठिन क्षेत्र हो । यसमा सानोतिनो बजेटले भ्याइदैन । हामीले गुरुयोजना सहित यातायात र विद्युत्त योजनालाई अगाडी सारेका छौँ यसबर्ष । र त्यो पनि रिपोर्ट तयार भईरहेको छ अनि हामी नयाँ आर्थिक बर्षमा त्यसलाई बजेट विनियोजन गरेर गुरुयोजना अनुसार नै विकास गर्ने छौँ ।
गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार विकास नीति चाँही के हो ?
यस्तो भो हामीले स्थानीय तहको जिम्मेवारी लिएपछि हामी पनि नयाँ भयौँ अनि कर्मचारी पनि नयाँ यसउसले गर्दा विगतको स्थानीय निकायकै तरिका गाविसको तरिकाबाट नीति नियम तथा बजेट विनियोजन गर्नु प¥यो । अब हामी यसलाई ब्रेक गरेर नयाँ अनुभुती हुने तरिकाले बजेट विनियोजन गरिन्छ ।
तपाई नेतृत्वमा आईसके पछि अर्थात यो आर्थिक बर्षको देखिने गरि भएको विकास निर्माण के छ बुँदागत रुपमा भन्न सकिन्छ ?
देखिने भन्दा आँखाले देखिने कि आन्तरिक रुपमा देखिने यो दुई तरिकाले लिन सकिन्छ यो विषयलाई । यसमा के छ भने हामीले शिक्षा रणनीति आर्थात शिक्षाको विकासलाई यसबर्ष पौने एक करोड बराबरको रकम विनियोजन गरेका छौँ शिक्षामा । जो पहिलेका निजी शिक्षकहरु हुनुहून्थ्यो त्यसलाई नै पुर्ती गर्ने किसिमले ४० जना नयाँ दरबन्दी शिर्जना गरि त्यसलाई प्रक्रियामा ल्याई सकेका छौँ । सबै भन्दा ठुलो परिवर्तनका लागि भन्दै शिक्षा क्षेत्रलाई नै बढी जोड दिएका छौँ । त्यसैगरी शिक्षा कार्यक्रम भित्रैबाट विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तरगत तिन तिन महिनामा स्वास्थ्य परिक्षण कार्यक्रम राखेका छौँ, त्यस्तै महिनावारीको समस्यका कारण विद्यालय नजाने किसोरीहरुकालागि पनि छात्रामैत्री सौचालय निर्माण तथा सेनेटरी प्याड र साबुनहरु निशुल्क रुपमा वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।
जिल्लाका अन्य स्थानीय तहभन्दा अपिहिमाल गाउँपालिकाका पृथक तरिकाबाट चल्दैछ भन्ने सुनीन्छ, जस्तो अपिहिमाल स्वयमसेवक भर्ना, निजी शिक्षको स्थानमा आफैले दरबन्दी सिर्जना गर्नु लगायत अन्य विकास नीतिहरु, यो हेर्दा ठिकै जस्तो लागेपनि आर्थिक दृष्टिकोणबाट कत्तिको सहज या असहज छ त ?
यसमा केहो भने जुनसुकै विकासका लागि पनि नीति बन्नु आवस्यक हुन्छ । अहिलेहामी नीतिनिर्माण तहमै छौँ । अहिले पनि हामीले ५८ जना अपि स्वयम्सेवक भनेर नियूक्ती गरेका छौँ किनकी विभिन्न विकृतीहरु हटाउन प्रहरी प्रशासनले मात्रै नपुग्ने हुँदा उक्त कुरा महसुस भएको हो । अनि अनि अर्को कुरा रोजगारी नेपालकै सबभन्दा विकराल समस्या हो र त्यसको पनि अन्त्य गर्न गाउँपालिका भित्रैका स्वयम्सेवकहरुलाई रोजगारी दिने र उनीहरुलाई नै परिचालन गर्ने उद्देश्यले स्वयम् सेवकको अवधारणा ल्याएका हौँ । मलाई लाग्छ यो अहिले सुरुवात मात्रै हो नीतिगत रुपमा कार्यान्वयनमा आउन अझै बाँकी छ । बाँकी रह्यो बजेटको कुरा । हामीसँग अहिले आन्तरिक आम्दानी छैन किनकी हामी अपिनाम्पा संरक्षण क्षेत्र भित्र पर्छौ त्यहाँको सबै आम्दानी नेपाल सरकारमा जान्छ । र हामीले यस्ता संरक्षण क्षेत्र भित्र परेका स्थानीय तहमा आन्तरिक श्रोत नभएका कारण केही अनुदान दिन पनि सरकारसँग माग गेरेका छौँ । साधन श्रोत धेरै भएर हामी अगाडी आएका होइनौँ र हामीसँग जे जस्तो श्रोत साधन त्यसैलाई सहि तरिकाले सदुपयोग गर्नु पर्छ ।
स्थानीय तह आफैमा अधिकार सम्पन्न भईसकेपछि सञ्चालनमा के कस्तो अवस्था छ ?
चुनौती भन्दा दूई तीनवटा चुनौती मैले देखेको छुँ । पहिलो त नीतिगत चुनौती हो । संघ प्रदेश र स्थानीय तहका अधिकारहरु स्पष्ट रुपमा उल्लेख नहुनु । भनेको प्रदेशसरकार र स्थानीय सरकारका अधिकारहरु पुर्ण रुपमा एकलौटी नहुनु अर्थात एकअर्कासँग बाँझिएपछि कार्यान्वयनमा समस्या छ । अधिकार बाँडफाँड गर्दा एक अर्कासँग कानुन ठोक्किएका छन् सायद भोलीका दिनमा यो समस्या राज्यले समाधान गर्ला नै वा संसोधन गरेरपनि कार्यान्वयन गर्न सकिएला । अर्को चुनौती भनेको अझै पनि हामी सबैको सोचाई पुरानै तरिकाले अगाडी बढी रहेको छ । पहिलेकै स्थानी निकायरु गाविस जिविस जस्तै कामकार्वाहीहरु अगाडी बढ्छन भन्ने सोचाईले काम गर्न समस्या भई रहेको छ । त्यो भन्दा पनि ठुलो चुनौती भनेको कर्मचारी तन्त्रमा छ । कर्मचारी तन्त्रको सोचाई अहिले पनि यास्तो छ कि हामी नै राज्यसत्ता चलाईरहेछाँैँ जस्तो गरी काम भईरहेको छ । मलाई लाग्छ यो समस्या अपिहिमाल गाउँपालिकाको मात्रै नभएर देश कै समस्या हो । अझ अहिलेको संघियता असफल भयो भने त्यो कर्मचारीकै हातबाट हुन्छ कि भन्ने शंका पनि मलाई लाग्छ । अन्तिम चुनौती भनेको हामीलाई भौगोलिक नै हो । विकास निर्माणमा भौगोलिक कठिनाईले निकै समस्या थपेको छ ।