बेपत्ता भएका पत्रकार तेजु खड्काको खोजी कार्य फेरि सुरु

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

बेपत्ता भएका पत्रकार तेजु खड्काको खोजी कार्य फेरि सुरु

कार्तिक २८ डोटी – बाजुराको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेलाबाट फर्किने क्रममा एका–एक सम्पकविहीन भएका डोटीका पत्रकार तेजबहादुर खड्का ‘तेजु’को पुनः बुधबारबाट खोजी कार्य सुरु गरिएको छ ।बाजुरा जिल्लाको प्रमुख धार्मिकस्थल बुढीनन्दाबाट कोल्टि फर्किने क्रममा गएको भदौ १० गतेबाट पत्रकार खड्का बेपत्ता भएका थिए । नेपाल पत्रकार महासंघको आग्रहमा स्थानीय प्रशासनले खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको छ ।सुदूरपश्चिम पृतना दिपायल राजपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरले हवाई मार्गबाट बेपत्ता पत्रकार खड्काको खोजी गर्नुका साथै २० जनालाई उहाँ बेपत्ता भएको स्थान छेउछाउको क्षेत्रमा उतारेको छ ।‘सेनाको हेलिकप्टरले बुधबार बिहान खड्काकी श्रीमती र आफन्त पर्ने अर्की महिलासँगै घटना भएको क्षेत्र नजिकैको बस्ती कुरुका १८ जना स्थानीयलाई लगेर छाडेको छ ।यसअघि पनि स्थानीय प्रशासनले गएको भदौमा सम्पर्कविहीन भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाएको भए पनि मौसम अनुकूल नभएका कारण भदौमा हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको थिएन ।पत्रकार खड्का बेपत्ता भएको धार्मिकस्थल बुढीनन्दा समुन्द्री सतहबाट झण्डै ४२ सय मिटरको उचाईमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाई क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ भन्ने ठाउँबाट सम्पर्कविहीन भएको बताइएको छ ।रेडियो नेपालको दिपायल प्रदेश प्रशारण केन्द्र दिपायल, हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बजुराको कोल्टीमा रहेको रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए ।बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केको र पछि एकाएक बेपत्ता भएको बताइएको छ ।