चलचित्र ‘जात्रै जात्रा’ छायांकन हुन बाँकी नै अष्ट्रेलियामा प्रर्दशनका लागि बिक्री

५ बर्ष अघि

२0७५ कार्तिक २८ बुधबार

चलचित्र ‘जात्रै जात्रा’ छायांकन हुन बाँकी नै अष्ट्रेलियामा प्रर्दशनका लागि बिक्री

दृष्टिकोण समाचार । चलचित्र जात्रै जात्राको टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको हो । इभेन्ट रपपअप इन्टरटेन्मेन्टले  जात्रै जात्राको सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिपोर्ट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् । पहिलो फिल्मले दर्शकको मन जितेको र  जात्रै जात्राको टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाई छ । निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार अन्य देशहरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको छ । यस्तै, ब्राण्डहरुसंगको सहकार्य र विदेश राइटको बिक्री आँकलन गर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदीप भट्टराईको दाबी छ । अहिले अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठूलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् । निर्देशक भट्टराइको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो  र  अष्ट्रेलियाभर ४० भन्दा बढी हाउसफुल शो गर्न सफल भएको थियो । षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित जात्रै जात्रा यहि फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा रविन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी रहेको छ ।