निर्वाचन ऐन संशोधन गर्न आयोगकाे माग

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

निर्वाचन ऐन संशोधन गर्न आयोगकाे माग

दृष्टिकोण समाचार कार्तिक २७ । काठमाडौं । निर्वाचन आयोगले निर्वाचन ऐन तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रवक्ता दिपक सुवेदीले रिक्त रहेका स्थानीय तह तथा प्रदेशसभाका विभिन्न पदहरुको निर्वाचन गराउन तत्काल निर्वाचन ऐन संशोधन गर्न सरकारसँग पुनः आग्रह गरेका हुन् । देशका २८ वटा स्थानीय तह तथा प्रदेश सभाका विभिन्न पदहरु रिक्त रहेका छन । सोही पदमा निर्वाचन गराउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु परेको प्रवक्ता सुवेदीले बताए ।

सरकारले ऐन बनाएर निर्वाचनको मिति तोक्ने वित्तिकै निर्वाचन सम्पन्न गराउने तयारीमा निर्वाचन आयोग रहेको छ । प्रवक्ता सुवेदीले निर्वाचन गराउने दायित्व पूरा गर्न आफूहरु तयार रहेपनि सरकारले आवश्यक कानूनको समेत व्यवस्था गर्न नसकेको गुनासो गरे । निर्वाचन आयोगले निर्वाचन गराउने आफ्नो संवैधानिक दायित्व अन्तरगत मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कामलाई निरन्तरता दिँदै आएको छ । संवैधानिक दायित्व अनुसार सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत् मतदाता नामावली संकलन, अध्यावधिकलगायतका काम भइरहेको पनि प्रवक्ता सुवेदीले जानकारी दिए ।

निर्वाचन ऐन अनुसार सरकारले मिति तोकेपछि मात्रै आयोगले निर्वाचनको तयारीको कामलाई अगाडि बढाउनुपर्ने हुन्छ ।निर्वाचन आयोगले निर्वाचनलाई सहज बनाउन मिति तोक्ने अधिकार आयोगलाई नै दिन सरकारसँग पटक-पटक आग्रह गर्दै आएको छ । संवैधानिक व्यवस्था अनुसार मृत्यु भएर तथा विभिन्न मुद्दामा परेर राजीनामा दिएकाकारण देशका विभिन्न गाउँपालिका, नगरपालिका र प्रदेश सभाका रहेका रिक्त पदमा निर्वाचन गराउनुपर्ने हुन्छ । तर, त्यसका लागि सरकारले कानुनी व्यवस्थासमेत गर्न नसकेको निर्वाचन आयोगको गुनासो छ ।प्रवक्ता सुवेदीले सरकारले आवश्यक कानूनको व्यवस्था गरेर मिति तोकि दिए रिक्त रहेका पदहरुको निर्वाचन गराउन आयोग तयार रहेको पनि स्पष्ट पारे ।