सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी हटाइए

५ बर्ष अघि

२0७५ कार्तिक २७ मंगलवार

सुदूरपश्चिम प्रदेशका  सामाजिक विकास मन्त्री सोडारी हटाइए

दृष्टिकोण समाचार कार्तिक २७ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई हटाइएको छ । तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । मन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले मन्त्रीलाई पदमुक्त गरिएको पुष्टि गरे । मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ । मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रबार राति कैलालीमा दुर्घटना भएको थियो । दुर्घटनामा ३ जना घाइते भएका थिए । मन्त्री सोडारी जीपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से३प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।