व्याँसका प्रमुख प्रशासकीय अधिकृत जिल्ला नै नपुगी सरुवा

५ बर्ष अघि

२0७५ कार्तिक २५ आईतवार

व्याँसका प्रमुख प्रशासकीय अधिकृत जिल्ला नै नपुगी सरुवा

 रमेश खत्री दार्चुला कार्तिक २५
व्याँस गाउँपालिका पनि केही महिना देखि प्रमुख प्रशाकीय अधिकृत विहीन बनेको छ । यसअघि कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिलिपसिँह धामीको रौतहट जिल्ला सरुवा भएपछि व्याँस गाउँपालिकामा हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । 
प्रमुख प्रशासकीय अधिकृत धामीको सरुवा पछि रामप्रशाद ओली आउने भनिएपनि उनको अन्तै सरुवा भएको छ । व्याँस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा मन्त्रालयबाटै रामप्रशाद ओली आउने भनिएपनि नयाँ प्रमुख प्रशासकीय अधिकृत व्याँस गाउँपालिकामै नपुगी अन्तै सरुवा भएको व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिँह बुढाथोकीले जानकारी दिए ।
गत असोज १४ गते दिलिपसिँह धामीको रौतहट जिल्ला सरुवा भएको एक महिना भन्दा बढी भइसक्दा समेत व्याँस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत दार्चुला नपुगेरै मन्त्रालयबाट अन्तै सरुवा भएपछि अर्को प्रमुख प्रशाकीय अधिकृतको कुनै टुंगो नलागेको अध्यक्ष बुढाथोकीको भनाई छ । यसरी बेला बेला कर्मचारीको सरुवा हुनुले स्थानीय तहका काम कारबाहीमा समस्या आउने गरेको स्थानीय सरकार प्रमुखहरुको भनाई छ ।
व्याँस गाउँपालिकाका लागि आउने भनिएका प्रमुख प्रशासकीय अधिकृत रामप्रशाद ओलीको बीच बाटो बाटै अन्तै सरुवा हुनुले दार्चुला आउन कर्मचारीहरु नरुचाउने गरेको प्रष्ट भएको टिप्पणी हुन थालेको छ । सुदूरपश्चिमको त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित विकट जिल्ला भएकाले पनि दार्चुला आउन कर्मचारी कम रुचाउने गरेका हुन् । दार्चुला जिल्लामा अझै विभिन्न असुविधा रहेकाले कर्मचारीहरु दार्चुला आउन त्यति नरुचाउने गरेको जानकारहरुको भनाई छ । 
दार्चुला जिल्लाका विभिन्न कार्यालयहरुका कर्मचारीहरुको सरुवा हेर्दा पनि प्रष्ट हुने गरेको छ दार्चुला आएका कर्मचारीहरु पनि लामो समय टिक्दैनन् । दार्चुला जिल्लामा सरुवा भइ आएका कर्मचारीहरु पनि छिट्टै सरुवा भएर अन्यत्रै जिल्ला जाने गरेका छन् । व्याँस गाउँपालिकाको घट्नाले झन् स्पष्ट पारिदिएको छ, कर्मचारीहरु दार्चुला आउन कति रुचाउँछन् भन्ने कुरा प्रस्ट भएको छ