पेरिस ओलम्पिकमा प्रिन्स दाहालले आज समूह चरणको अन्तिम खेल खेल्दै

१ महिना अघि

२0८१ श्रावण १६ बुधबार

पेरिस ओलम्पिकमा प्रिन्स दाहालले आज समूह चरणको अन्तिम खेल खेल्दै

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । समूह ‘पी’ मा रहेका प्रिन्सले इजरायलका मिसा जिलबरमनसँग आज खेल्ने भएका हुन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेलसमेत हुनेछ । प्रिन्स विश्व वरीयताको १ सय ७२ औँ स्थानमा छन् भने मिसा ५८ औँ स्थानमा छन् । यसअघि प्रिन्स भिक्टर एक्सेलसन र नहाट एन्ग्वेनसँग २–० ले पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो । पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए । अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।