अनिवार्य र निःशुल्क शिक्षा ऐन अब कार्यान्वयन हुन्छ,  मन्त्री भट्टराई 

१ महिना अघि

२0८१ श्रावण २ बुधबार

अनिवार्य र निःशुल्क शिक्षा ऐन अब कार्यान्वयन हुन्छ,  मन्त्री भट्टराई 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन् । बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो प्रतिबद्धता जनाएकी हुन् । समितिको बैठकमा विद्यालय शिक्षा विधेयक(२०८० माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कार्ययोजनाको अभावमा सो ऐन कार्यान्वयनमा लैजाने काम नभएकाले आफूले त्यसको कार्यान्वयनका लागि कम्तिमा एक महिनाभित्र कार्ययोजना तय गरेर अघि बढ्ने बताइन् । उनले सो ऐन कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि आफूले छलफल गरेर अघि बढ्ने बताइन् । विद्यालय शिक्षा ऐनसँग पनि सो ऐनलाई म्याचिङ गरेर अघि बढाउने मन्त्री भट्टराईको योजना छ । उनले शिक्षा प्रणालीमा पुनर्विचार गरेर त्यसलाई नतिजामुखी बनाउने काममा पनि आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘हामीले ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । आज हामीसँग भएको अघि पनि भनियो–अनिवार्य र निःशुल्क शिक्षा ऐन छ । मैले हिजो मन्त्रालयमा छलफल गर्दा पनि भने–यो ऐनलाई कसरी कार्यान्वयन गर्ने रु भन्ने कुराको खाका अब मन्त्रालयले बनाउनुपर्छ । मन्त्रालयले त्यो बनाएर अगाडि जानुपर्छ । विद्यालय शिक्षा ऐन बनाउँदा यो ऐनलाई कसरी म्याचिङ गरेर जाने भन्ने कुरामा पनि हामीले छलफल गर्नुपर्छ भन्ने लाग्छ । अनिवार्य र निशुल्क शिक्षा ऐनको एउटा भावलाई हामीले कार्य प्रारम्भ गर्दा कसरी शुरु गर्ने भन्ने बारेमा पनि हामी छलफल प्रारम्भ गर्दैछौं ।ु उनले १५ दिनभित्रै नतिजा आउने गरी निर्णय लिएर अघि बढ्ने बताइन् । मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सांसदहरुले दिएको सुझावलाई आफूले ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाइन् ।