सिमलताल दुर्घटना दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको प्रशासनद्वारा जानकारी

२ महिना अघि

२0८१ असार ३१ आईतवार

सिमलताल दुर्घटना दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको प्रशासनद्वारा जानकारी

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु रहेको खुलेको छ । जम्मा ३८ जना यात्रु रहेको यो बसका तीन जना यात्रु भने सकुशल छन् । त्यस्तै वीरगन्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बसको चलानमा २३ जना र आफन्त सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चार जना गरी जम्मा २७ जनाले यात्रा गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । दुवै बसमा रहेका यात्रुमध्ये तीन जना सकुशल रहेको र बाँकी ६२ मध्ये आज बिहानसम्म चारवटा शव फेला परेको छ । तीमध्ये तीनवटा शवको आफन्तले सनाखत गरेका छन् । अझै ५८ जनाको अवस्था थाहा हुन सकेको छैन । बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ ।