२४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

२ महिना अघि

२0८१ असार २९ शुक्रबार

२४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

 विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो । चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटनालगत्तै सिंहदरबारमा आज बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफलसमेत भएको छ । दुई वटा रात्रि बस पहिरोले बगाएको र ती बसको खोजी कार्य भइरहेको पनि गृह सचिव अर्यालले जानकारी दिनुभयो । उहाँले बसमा कति जना यात्रु थिए भन्ने अहिलेसम्म पनि यकिन नभएको बताउनुभयो । बैठकले काठमाण्डौबाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका गाडीमा टिकट अनिवार्य गर्ने निर्णय गरेको छ । यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित गर्न आवश्यक मापदण्ड बनाउने भएको छ । मौसम प्रतिकूल भएका जिल्लामा रात्रिकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर उपयुक्त निर्णय गर्ने तयारी छ । सचिव अर्यालले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुलाई पनि टिकट नलिइकन यात्रा नगर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले सुरक्षा निकायलाई विभिन्न ठाउँमा यात्रुवाहक बसमा कडाइका साथ जाँच गर्न आग्रह गर्नुभएको छ ।