रास्वपाले सरकारमा गएर कुनै नराम्रो काम गरेको छैन गृहमन्त्री लामिछाने

३ महिना अघि

२0८१ असार २ शनिबार

रास्वपाले सरकारमा गएर कुनै नराम्रो काम गरेको छैन गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा आज काठमाण्डौमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लामिछानेले रास्वपासँग आम नागरिकको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गर्नुभयो । उहाँले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताउनुभयो । लामिछानेले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको जिकिर गर्नुभयो । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताउनुभएको छ । उहाँले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको र आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताउनुभयो । राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी रहेको उहाँको भनाइ थियो । उहाँले कुनै पनि कुरामा रास्वपामाथि अनावश्यक, अनाधिकृत हिसाबले सम्झौता गर्न लगाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिरिने चेतावनी दिनुभयो ।