बिजुली लाइन काटेर २३ लाख रुपैयाँ असुली

५ बर्ष अघि

२0७५ कार्तिक २३ शुक्रबार

बिजुली लाइन काटेर २३ लाख रुपैयाँ असुली

दृष्टिकोण समाचार कार्तिक २३ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले महशुल नतिर्ने ग्राहकको लाइन काटनुका साथै २३ लाख १४ हजार ७०८ असुल गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्युत् महशुल नबुझाउने २३३ ग्राहकको लाइन काटेर उक्त रकम असुल गरिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण विद्युत महशुल सङ्कलन विनियमावली २०७३ को दफा ८ अनुसार मिटर रिडिङ गरेको २३औँ दिनदेखि ३०औँ दिनसम्म विद्युत् महशुल बुझाएमा पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशत, ४१औँ दिनदेखि माथि विद्युत् महशुल बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्नेछ । यस्तै विनियमावलीको दफा १० अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महशुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटन सकिने व्यवस्था छ । उक्त केन्द्रले लामो समयदेखि बिग्रेका मिटर बदली गर्ने अभियान चलाएकोमा चालु अावमा एक हजार थान मिटर बदली गर्ने केन्द्रकाे याेजना  छ । अहिलेसम्म यस्ता बिग्रेका झण्डै २५० भन्दा बढी ग्राहकको मिटर बदलिएको र यसबाट नियमित महशुल सङ्कलन पनि वृद्धि भएको प्रमुख गोशलीले बताउनुभयो ।