प्रधानमन्त्री प्रचण्ड आज नयाँ दिल्ली जाँदै 

३ महिना अघि

२0८१ जेष्ठ २७ आईतवार

प्रधानमन्त्री प्रचण्ड आज नयाँ दिल्ली जाँदै 

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै हुनुहुन्छ । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिउँसो नयाँदिल्ली जाने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डको साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले बेलुका शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उहाँबीच भेटवार्ता हुने नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका नै भारतका राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किनुहुनेछ । यसअघि मोदीको पहिलो कार्यकालको शपथ ग्रहणमा स्वर्गीय सुशील कोइराला र दोस्रो कार्यकालको शपथमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुभएको थियो । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्डसहित, श्रीलंका र माल्दिभ्सका राष्ट्रपति तथा बंगलादेश, भुटान र मौरिससका प्रधानमन्त्री पनि भाग लिन आउने जनाएको छ ।