जापान पठाइदिने प्रलोभनमा  ठग्ने गिरोह पक्राउ

४ महिना अघि

२0८१ बैशाख २१ शुक्रबार

जापान पठाइदिने प्रलोभनमा  ठग्ने गिरोह पक्राउ


 जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरूसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने  ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए । रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथ केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए । उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको,सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको बताए । त्यस्तै निज राजन श्रेष्ठलाई  र ईश्वरी पाण्डेलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको बताए ।