खाडीमा बेचिएकी ’निर्मला’  दैनिक १५ घण्टाभन्दा बढी काम,

७ महिना अघि

२0८१ बैशाख २0 बिहीबार

खाडीमा बेचिएकी ’निर्मला’  दैनिक १५ घण्टाभन्दा बढी काम,


भारतमा मजदुरी गर्न गएका श्रीमानले अर्को बिहे गरेपछि;  सल्यान त्रिवेणी गाउँपालिका–३ की २८ वर्षीया निर्मला  माथि  घरव्यवहार चलाउने जिम्मेवारी आइलाग्यो, १५ वर्षको छोरा र ११ वर्षकी छोरीलाई पढाउनु–लेखाउनुपर्ने जिम्मेवारी पनि उनीमाथि आइपर्‍यो । सबै जिम्मेवारी आफ्नो थाप्लोमा आइपरेपछि घरखर्च चलाउन उनले ऋण लिन थालिन् । लघुवित्त र आफन्तबाट लिएको ऋणले केही समय गुजारा त टर्‍यो तर, ऋणको भारी भने गह्रुंगो हुँदै जान थाल्यो । बढ्दै गएको ऋणको भारी बिसाउन र घर खर्च चलाउन उनले  एकदिन विदेशिने सोच बनायो । सोचिन्, ‘केही वर्ष परदेशमै जस्तै दुःख गरौंला, ऋण फालेर केटाकेटी पढाऊँला, हुर्काऊँला । विदेशिने सोचमै रहेका गाउँकै भाइ नाता पर्ने एक जनाले चिनाजानी गराइदिए, गोरखाका राजेन्द्र सारु मगर । काठमाडौंमा बस्दै आएका राजेन्द्र विदेश पठाउने काम गर्थे । जब उनी राजेन्द्रसँगको सम्पर्कमा पुगिन्, त्यसपछि उनले राम्रो आम्दानी हुने कम्पनीमा पठाइदिने प्रलोभन देखाउन थाले । ‘घरको जस्तै काम हो, दुःख गर्नुपर्दैन’ राजेन्द्रले त्यतिबेला फकाउँदै भनेका थिए, ‘अरु त अरु विदेश जान पैसा लाग्दैन, कमाइ पनि राम्रै हुन्छ ।’ राजेन्द्रले महिलालाई विदेश जाँदा पैसा नलाग्ने बताएका थिए । त्यसमा पनि प्रलोभन देखाए, मासिक ६० हजार रुपैयाँ कमाइ । समस्यासँग जुधिरहेको बेला निर्मलाका लागि यो पैसा ठूलै थियो । उनी विदेश जान तयार भइहालिन् । तर यतिञ्जेल उनलाई आफू कसरी विदेश जाँदैछु भन्ने थाहा थिएन । उनले भनिन् पछि थाहा भयो, उनलाई भिजिट भिसामा दुबई पठाइएको रहेछ । २०७८ मंसिरमा उनलाई सीधै दुबई पुर्‍याइयो । दुबईको एयरपोर्टमा उनलाई लिन दुई जना व्यक्ति आएका थिए । एयरपोर्टबाट लिएर सीधै एउटा घरमा राखे । जहाँ थुप्रै नेपाली, भारती र बंगाली महिलाहरुलाई राखिएको थियो । ‘त्यहाँ मजस्तै दिदी बहिनीलाई राखिएको रहेछ । कति त महिनौं पनि बसिरहेका रैछन्’, उनले भनिन् । नेपाल फर्किसकेपछि उनले सरकारले खाडी राष्ट्रहरुमा महिलाहरुलाई घरेलु कामदारका रुपमा प्रतिबन्ध लगाएको भन्ने थाहा पाइन् । दलालहरु अनेक लोभ–प्रलोभन र झुक्याएर त्यसरी महिलाहरुलाई ओमन, साउदी, कतार, कुवेत जस्ता खाडी देशहरुमा पुर्‍याएर बेच्दा रहेछन् । हाम्रो सोझोपन र समस्याको फाइदा उठाएर उनीहरु हाम्रा दिदीबहिनीहरुलाई विदेशमा बेच्ने रहेछन्’ उनले भनिन्, ‘त्यहाँ बेचिएका थुप्रै नेपाली दिदीबहिनीहरु देखें । संयोगले मचाहिं बाँचेर फर्किन सकें । मजस्तो अरु दिदीबहिनीहरु यसरी नजाऊन् ।’