‘सबै जलेर राख भयो, के खाने, कहाँ बस्ने

४ महिना अघि

२0८१ बैशाख १४ शुक्रबार

‘सबै जलेर राख भयो, के खाने, कहाँ बस्ने

 महोत्तरीको मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलकी विमलादेवी पासवान बिहीबार दिउँसो ४ बजेतिर जलेर खरानी भइसकेको आफ्नो घरअगाडि बिलौना गर्दै थिइन्, ‘अब कहाँ बस्ने, के लगाउने, के खाने  ठूलो विपत्त पर्‍यो । छिमेक मुस्लिम बस्तीमा सल्केको आगोले बुधबार दिउँसो पासवानको घर हेर्दाहेर्दै खरानी बनाएको थियो । एकाएक बेघर बनेकी उनी अहिले २ छोरी, नातिनातिना र आमासहित ६ जना नगरपालिकाले दिएको त्रिपालमुनि दिनरात काट्न बाध्य छन् । आगलागीमा पड्केको ग्यास सिलिन्डरले आगोको झिल्को सय मिटर पर छिमेकको घरमाथि खस्यो । चलिरहेको तातो हावाले विमलाको घर पनि आगलागीको चपेटामा पर्न समय लागेन ।हेर्दाहेर्दै बस्तीभरका घर एकएक गर्दै दनदनी बल्न थाले ।
‘उता आगलागीमा ग्यास सिलिन्डर बिस्फोटको आवाज आयो । मेरो घर पनि बाँकी रहेन’, विमलाले दुखेसो पोखिन्, ‘हेर्दाहेर्दै क्षणभरमै मेरो घर खरानी भयो । केही पनि झिक्न सकिनँ । रुपैयाँ, पैसा, अन्न, लत्ताकपडा, नागरिकता सबै जल्यो ।’
दिउँसोको समयमा आगलागी भएको हुँदा मानवीय क्षति भने हुन नपाएको उनको भनाइ छ । ‘दिउँसो थियो । सबै भागेर ज्यान बचाए । राति यस्तो आगलागी भएको भए कयौं मान्छे जलेर मर्थे होला’, विमलाले भनिन् ।  बस्तीमा भएको १ सय २५ परिवारको घर जलेर नष्ट भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल बताउँछन् । १० वटा वारुणयन्त्र, ३ सय जनाभन्दा बढी सुरक्षाकर्मी, स्थानीयको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रण भएको थियो ।