दार्चुलासहित सुदूरपश्चिममा बिसु पर्व धुमधाम संग मनाइँदै

५ महिना अघि

२0८१ बैशाख १ शनिबार

दार्चुलासहित सुदूरपश्चिममा बिसु पर्व धुमधाम संग मनाइँदै

दार्चुलासहित सुदूरपश्चिममा नयाँ वर्षको आज पहिलो दिन  बिसु पर्वको रुपमा धुमधाम संग मनाइँदै छ । बैशाख १ गते सुदूरपश्चिमेलीहरुले बिसु पर्वको रुपमा मनाउने गर्दछन् । रोजगारी र अध्ययन तथा अन्य कामका लागि घर बाहीर रहेकाहरु गाउँ फर्किएपछि बिसुको रौनकता छाएको छ ।

दार्चुलासहित  बैतडी ,डडेल्धुरा, बझाङ्,  डोटी, अछाम, बाजुरा लगायत जिल्लाका स्थानीयहरुले यो बिसु पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् । पछिल्लो समय सुदूरपहाडमा मात्रै  नभएर तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।
बिसु पर्व सबै पर्व मध्येको जेठो र महत्वपूर्ण पर्व हो ।बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र साथै  सिस्नो लगाउने  चलन पनि  रहि आएको छ । देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुहरूले एक–आपसमा सिस्नुपानी छ्यापेर पनि यो पर्व मनाउने गरिएको  पाईन्छ ।

 देवर नहुने र नन्दन हुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउँछन् ।  बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने गरिएको संस्कृतिका जानकार बताउँछन् । बिसुको दिन सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधिहरू हराएर जाने जनविश्वास रहिआएको छ ।