विदेश रहर कि बाध्यता ? ९ महिनामा १३ सयले बुझे राहदानी

५ महिना अघि

२0८0 चैत्र २७ मंगलवार

विदेश रहर कि बाध्यता ? ९ महिनामा १३ सयले बुझे राहदानी

राहदानीको प्रयोग विशेष गरी विदेश जाने प्रयोजनका लागि गरिन्छ । तर राहदानी बनाउने जती सबै बैदेशिक रोजगारीका लागि मात्रै जान्छन त ? यो प्रश्न र देशको अवस्था हेर्दा ‘हो’ भन्ने जवाफ बढी आउला । 
वैदैशिक रोजगारीका साथ–साथै अन्य विभिन्न प्रयोजनले राहदानी बनाउनेको संख्या बढ्दो छ । दार्चुला जिल्लाबाट यो बर्षको ९ महिनाको अवधीमा १ हजार १ सय ७५ पुरुष र २ सय १९ महिला गरि १ हजार ३ सय ९४ जनाले विद्युतिय राहदानीका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा फारम भरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । फारम भरेकाहरु मध्ये १ हजार ३ सय २३ जनाले राहदानी बुझेर लगेका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङ्क हेर्दा २०८० बैशाख देखि असार मसान्तसम्म ४ सय ८८ जनाको फारम संकलन गरिएको र ४ सय २० जनाले राहदानी  बुझेका हुन् । त्यस्तै २०८० साउन देखि असोज मसान्तसम्म फारम संकलन ४ सय ३३ जना र ११ सय ७७ जनाले राहदानी बुझेका छन् । त्यसैगरी २०८० कार्तिक देखि पुस मसान्तसम्मको तथ्याङ्क हेर्दा ४ सय ७३ जनाको फारम संकलन गरिएको र ४ सय ७० जनाले राहदानी बुझेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । यो अवधिमा राहदानी शुल्क बाफत २४ लाख ७० हजार रुपैँया राजश्व संकलन गरिएको छ ।