लक्ष्मी पूजा दिन आगलागी

५ बर्ष अघि

२0७५ कार्तिक २२ बिहीबार

लक्ष्मी पूजा दिन आगलागी


दृष्टिकोण समाचार कार्तिक २२,  भक्तपुर । मध्यपुर थिमि–१स्थित लोकन्थलीमा लक्ष्मी पुजा गर्ने क्रममा बुधबार राति आगलागी भएको छ । आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा रु ११ लाख बराबरको सामान क्षति भएको हो ।
लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो । 
आगलागीबाट करीब १० तोला सुन, नगद रु पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थान लगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए । करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएकोे थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक राईले बताउनु भयो ।