मार्मा पालिका भवनमा आगलागी र ढुंगामुढा प्रकरण स् अनुसन्धान ‘हाकिम’तिरै सोझियो

६ महिना अघि

२0८0 चैत्र ६ मंगलवार

मार्मा पालिका भवनमा आगलागी र ढुंगामुढा प्रकरण स् अनुसन्धान ‘हाकिम’तिरै सोझियो

जिल्लाको मार्मा गाउँपालिका भवनमा भएकोे ढुंगामुढा र आगजनी घटनाको अनुसन्धान प्रमुख प्रशासकीय अधिकृतमाथि नै सोझिएको छ ।

फागुन २४ गते राति करिब दुई बजेतिर पालिका भवनमा भएको ढुंगामुढा र आगजनीबारेको अनुसन्धान प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि सोझिएको हो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नै घटना घटाएको प्रमाण प्रहरी अनुसन्धानले देखाएको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहलाई बुझ्दा अनुसन्धानका क्रममा प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिई सोमवार अदालतबाट ७ दिनको म्याद थप गरिएको बताए ।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतमाथि अपराधिक उपद्रभअन्तर्गत मुद्धा दर्ता गरिएको छ । अन्य व्यक्ति वा समूहले पालिकामा ढुंगामुढा र आगजनी गरेको प्रमाण नदेखिदा प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फागुन २४ गते राति सरकारी आवासमा सुतिरहेको बेला आक्रमण भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीले हारगुहार माग्दै प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै घटनास्थलमा छेउमै रहेको इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली पुगेको थियो । घटनास्थलमा प्रमुख प्रशासकीय अधिकृत सुत्ने कोठाको झ्यालको सीसा फुटेको र कपडामा आगजनी भएको भेटिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्माबाट सरुवा मागेको र सरुवा नहुँदा यस्तो घटना घटाएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।