हिरासतमा रहेका एक जना थुनुवा भागे, समात्न खोज्दा प्रहरीले ज्यान गुमाए

६ महिना अघि

२0८0 फाल्गुन २८ सोमबार

हिरासतमा रहेका एक जना थुनुवा भागे, समात्न खोज्दा प्रहरीले ज्यान गुमाए

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवा सोमबार भाग्न खोजे । जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिह कुवरलाई प्रहरीको मुद्धा शाखामा सोधपुछको क्रममा उनी भाग्न खोजेका हुन् । हातमा हतकडी लगाएकै अवस्थामा भाग्न खोज्दा प्रहरी जवान सोहन चौधरीले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेर भाग्ने क्रममा चौधरीले उनलाई रोक्न खोजेका थिए । हतकडी सहित हामफालेका कुवरसँगै हुत्तिएर चौधरी भीरबाट लडे । झण्डै एक सय मिटर तल खसेपछि प्रहरी जवानको ज्यान गएको छ ।

थुनुवा भागेपछि प्रहरीले जवानले रोक्न खोजे, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले भने ।

टाउँकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल दार्चुलामा पु¥याउँदा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

हामफालेर भागेका कुवर महाकाली तरेर भारततर्फ लागे । प्रहरी पनि सँगै नदी तरेर भारतपट्टि पुगेर नियन्त्रणमा लिइएको इन्स्पेक्टर सिंहले बताए । भारतबाट गोरखा रेजिमेन्टले पनि सहयोग ग¥यो ।

गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमति धनिसा कुवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी पछि प्रहरीले उनलाई सोधपुछको लागि जाने क्रममा प्रहरी हवल्दा जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लाग्यो ।

कुवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबरजस्तीकरणीको मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो ।