बैतडीमा जिपसहित भन्सार छलीका सामग्री बरामद

६ महिना अघि

२0८0 फाल्गुन २२ मंगलवार

बैतडीमा जिपसहित भन्सार छलीका सामग्री बरामद

बैतडीमा जिपसहित भन्सार छलीका सामग्री बरामद गरिएको छ । खोचलेक प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले सोमबार राति सतबाँझ–गोकुलेश्वर सडकखण्ड अन्तर्गत खोचलेकमा भन्सार छलीका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

भन्सार छलीका सामग्री ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले से १ ज ७१८ नम्बरको जिपसहित भन्सार छलीका सामग्री बरामद गरेको हो । चप्पल, बिँडी लगायतका २ लाख ५७ हजार ४ सय रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामग्री र ती सामग्री ओसारपोसारमा प्रयोग गरिएको ८ लाख मूल्य बराबरको जिप समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जोशीले बताए । 

भन्सार छलीका सामग्री, जिप र जिप चालकलाई आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको प्रहरी निरीक्षक जोशीले बताए । जिप चालक बझाङको बुंगल नगरपालिका ११ का पुष्करबहादुर बोहरालाई पनि नियन्त्रणमा लिइएको हो ।