आर्थिक समृद्धीका लागि नीजि क्षेत्रको भूमिका महत्वपुर्ण छ : मंगल सिह ठगुन्ना 

५ बर्ष अघि

२0७५ कार्तिक १९ सोमबार

आर्थिक समृद्धीका लागि नीजि क्षेत्रको भूमिका महत्वपुर्ण छ : मंगल सिह ठगुन्ना 

व्यवसाय भनेको त्यस्तो पाटो हो जो आधुनिक समयमा मान्छेको अपरिहार्य अंङ्ग जस्तै बनेको छ । उत्पादकले उत्पादन गरेका वस्तु उपभोक्तासम्म पु¥याउने माध्यम भनेकै व्यवसाय हो । विकसीत मुलुकहरु औद्योगिक क्रान्ति तथा उद्योग व्यवसायले नै विकसीत भएका हुन् । हाम्रो देश नेपाल र त्यसमा पनि दार्चुला जिल्लाको सन्दर्भमा कुरा गर्दा व्यवसाय र व्यवसायिहरुको अवस्था दयनिय छ । 
व्यवसायिकतामा आधारित रहेर सुदुरदृष्टिकोणका लागि दार्चुला जिल्लाको व्यवसायिहरुको संस्था दार्चुला उद्योग बाणिज्य संघका अध्यक्ष मंलगसिह ठगुन्नासँग पत्रकार सुलोचना महताले गरेको अन्तरर्वाताको सम्पादित अंश  । 


व्यापार व्यवसायिहरुको नेतृत्वमा हुनुहुन्छ , कति भो यो पेशामा लागेका ? 
सुरुको जिवन अध्ययन पछि व्यवसायमै लागियो । यसै दरव्यानमा २०६४ देखि २०७० साल सम्म दार्चुला उद्योग बाणिज्य संघको नेतृत्व गरे । फेरी नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य भएर काम गरियो । अहिले फेरी २०७४ साल चैत्र देखि पुनः दार्चुला उद्योग बाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा छुँ । 
आफ्नो कार्यकालमा व्यासायिकताका लागि तपाईले के—के काम गर्नु भयो ? 
दार्चुला जिल्लामा व्यापार व्यवसायलाई सहज गर्न डिभिजन वनकार्यालय दार्चुला र अपीनाम्पा संरक्षण क्षेत्रसंग सम्झौता गरी जडीबुटी निकासीलाई सहज बनाउने काम आफ्नो कार्यकालमा भयो । दार्चुला जिल्लामा त्यतिबेला सडक सञ्जाल देखि लिएर सञ्चार, अन्य भौतिक विकास न्युन रहेकोमा दार्चुला जिल्लाको अन्य विकासका लागि पनि आफुले नीजि क्षेत्रको तर्फबाट हुने आवश्यक पहल गरेको थिए । जिल्लाको सामानुपातिक विकास गर्नका लागि बाटोघाटो, पुल, सडक, सञ्चारको पहुँचमा हाम्रो जिल्लाले पनि पुग्नु पर्छ भनि पहल गरे । विकासका आधारभूत कुराहरुको पहुँच भएमा मात्रै अरु व्यापार व्यवसाय गर्न सकिन्छ । 
दोश्रोचोटी दार्चुला उद्योग बाणिज्य संघको नेतृत्वमा आउनु भो, अबको व्यवसायिक योजना के छ ? 
हाम्रो जिल्ला पहिलेको तुलनामा अहिले धेरै विकास तथा समृद्धिमा गएको छ । यसको कारण पनि दार्चुला जिल्लामा पाइने बहुमुल्य जडीबुटीबारे देश तथा विदेशका मानिसहरुलाई जानकारी हुनुका साथै यहाँको जडिबुटी बाहिर जानथालेपछि जडिबुटी व्यवसायले केही काँचुली फेरेको । आफु नीजि क्षेत्रको तर्फबाट दार्चुला जिल्लाको लिडिङ पावरमा बसेर मैले गर्न सक्ने कामहरु म निरन्तर रुपमा गरिरहेको छ । 
भावी दिनमा तपाईका व्यवसायिक योजनाहरु के हुन् ?
आजको पिँढीको आवश्यकता भनेकै आर्थिक समृद्धि हो । मानिसहरुलाई व्यवसाय तथा व्यापारले नै आर्थिक समृद्धि तर्फ लैजाने हुदाँ व्यापार तथा व्यवसाय क्षेत्रको प्रबद्धन गर्नको लागि आवश्यक पहल गर्ने छु । भने दार्चुला जिल्लामा मात्र नभएर सिंगो देश नै अरु मुलुकहरुमा भरपर्नु पर्ने अवस्था रहेको छ । दार्चुला जिल्लामा व्यापार व्यवसाय तथा उद्योगहरुको विकास गर्न आफुले सक्दो पहल गर्ने,  उत्पादनलाई जोड दिनका लागि आफुले सक्दो प्रयास गर्ने, यहाँ उत्पादन हुने वस्तुहरुको पहिचान गर्न मेला, महोत्सव आयोजना गर्ने, यहाँ रहेका पर्यटकीय सम्भावनाहरुको उजागर गरी प्रचार पसार गर्ने, सडक तथा सञ्चारको पहुँच नभएर उत्पादित वस्तुले बजार पाउन नसकेको ठाउँमा ति पुर्वाधार निर्माण गर्न पहल कदमी गर्ने लगायतका कामहरु गर्न सकेमा आगामी दिनमा दार्चुला जस्तो सम्भावनाहरुको खानी भएको क्षेत्रको विकास गर्न सकिन्छ ।  
दार्चुला मात्रै नभएर हाम्रो मुलुक भारतीय बजारमा भर परेको छ । यसको विकल्प के हो ? 
नेपालको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या कृषि पेशामा आबद्ध छ । तर आत्म निर्भर हुन नसक्नुले नै परनिर्भर हुनु परेको यथार्थ हामी कहाँ छ । 
पहिलो नम्बरमा त हाम्रो कृषि उत्पादनमुखी नभएर नै हामी सबै नेपालीहरुले अर्काको भरमा बाँच्नु पर्ने स्थिति छ । अहिले मुलुक संघिय संरचनामा गएर नयाँ अभ्यास गर्दैछ । हाल संघिय सरकार तथा प्रदेश देखि लिएर स्थानीय सरकारहरुले कृषि क्षेत्रमा बजेट विनियोजन गरेता पनि उत्पादनमा जोड दिएको पाइदैन् । अझै पनि परम्परागत कृषि प्रणाली हाम्रो समाजमा हाबी छ । झन पछिल्लो समय देशमा बढेको चरम बेरोजगारी समस्याका कारण युवाशक्तिको विदेश पलायनले गर्दा भएको खेतीयोग्य जमिन पनि बाँझो रहेको छ । 
अबको आर्थिक समृद्धिको पहिलो आधार पनि कृषि भएकाले कृषिमा आधुनिक खेती प्रणाली देखि लिएर रोजगारी सिर्जना हुने किसिमको कृषि क्रान्ति गर्नु पर्छ । यस बाहेक अन्य विकास निर्माणका काम र रोजगारीको ग्यारेन्टी गर्न सक्यौँ भने नेपालीहरु आत्मनिर्भर हुनेछन् । 
दार्चुलाको मात्रै समृद्धि कहिले होला ?यसका लागि तपाईको पहल के हुन्छ  ?
अब हामीले आफ्नै भूमिमा कृषि उत्पादन गर्न सकेमा दार्चुला बासी स्वधीन हुन्छौ । भने आजको युग आद्यौगिक क्रान्तिको युग भएकाले कृषि उत्पादन सँगसँगै व्यवसायमा जोड दिनका लागि पहल गर्ने सोच छ । यहाँको पहिलो सम्भावना मध्ये जडिबुटी पनि एक हो यसमा मेरो कार्यकाल सम्म केही न केही देखिने किसिमको काम गर्नेछुँ । 
दार्चुलामा व्यवसाय गर्न तथा लगानी गर्नका लागि के— के सम्भावना छन् ?
दार्चुला जिल्ला लगानी तथा व्यवसाय गर्नका लागि प्रचुर सम्भावना रहेको छ । यहाँ प्रशस्त पानीका मुहान तथा खोलानाला बगेर खेर गईरहेका छन् कतिपय ठाउँमा त विद्युत्त उत्पादन भएको छ अझ धेरै विद्युत्त उत्पादन गर्न सकिन्छ । दार्चुला हिमाली जिल्ला भएकाले बहुमूल्य जडीबुटी देखि लिएर विभिन्न खानीहरु रहेका छन् । यसका अतिरिक्त यहाँको अर्को ठूलो सम्भावना पर्यटन व्यवसाय हो । हामीकहाँ थुप्रै भर्जिन पर्यापर्यटनको लागि विभिन्न धार्मिक तथा ऐतिहासिक स्थल देखि खोलानाला, भज्याङ चौतारी र गुफा ताल तलैया देखि आकर्षक हिमश्रृङ्खलाहरु छन् । यस बाहेक दार्चुला जिल्ला त्रिदेशीय सीमा जोडिएको जिल्ला भएकाले व्यापारिक नाकाको विस्तार गर्नु अहिलेको आवस्यकता हो । 
जिल्लामा लगानी भित्र्याउने तपाईसँग के योजना छ  ?
एकदमै राम्रो प्रश्न गर्नु भयो । हाम्रो जिल्लामा चमेलिया जलविद्युत लगायत अन्य जलविद्युत आयोजनामा विदेशीहरुले पनि लगानी गरेको अवस्था छ । यसरी विदेशी तथा स्वदेशीले लगानी मैत्री वातावरण सिर्जना गर्नका लागि आवश्यक पहल गर्ने नै छु । हाम्रो जिल्लामा अझै पनि धेरै सम्भावनाहरु छन् तर पहिचान तथा अनुसन्धानको अभाव रहेकोमा सरकार तथा सरोकारवालाहरुको ध्यान जान जरुरी देखेको छु । जिल्लामा लगानी भित्र्याउन दार्चुला जिल्लाको नीजि क्षेत्रबाट मैले गर्नु पर्ने पहल कदमीका लागि म प्रतिबद्ध छुँ । 
जिल्लामा व्यवसायिक चुनौतिहरु के कस्ता छन् तिनको समाधान सहित बताई दिनुस् । 
उद्योग तथा व्यवसाय गर्न धेरै कुराहरु आवश्यक हुन्छ तब मात्र व्यवसाय सञ्चालन र फस्टाउन सक्छन् । व्यवसाय गर्नका लागि मानिसलाई सबैभन्दा पहिले पुजीँ आवश्यक हुन्छ । हाम्रो जस्तो गरीब देशमा सरकारले पनि व्यवसाय खोल्नका लागि सस्तो दरमा नत रिण उपलब्ध गराएको छ नत आफैले ठुल्ठुला उद्योग कलकारखानाहरु ठाउँ ठाउँमा सञ्चालन गर्न सकेको छ । पुजीँ भएका पुजीँ पतिहरुका लागि सडक र सञ्चारको व्यवस्था, बजारको व्यवस्था र सुरक्षाको प्रतिभुति  गर्न सकेको छैन् । मुख्यतया अहिलेका व्यवसायिक चुनौतीहरु यी नै हुन् । अब यस्ता समस्या समाधान गर्न तिर लाग्यो भने मात्र आर्थिक समृद्धि हुन्छ । एउटा व्यक्तिले मात्र आर्थिक समृद्धि गर्न सक्दैन् आर्थिक प्रगतिका लागि सर्वसाधारण जनता, स्थानीय सरोकारवालाहरु देखि लिएर सरकारले समेत जुट्नु पर्ने अवस्था आएको छ तबमात्र विकास र आर्थिक समृद्धी हुन्छ । 
अन्तमा तपाईको व्यासायिक योजना सहितको भनाई के छ ? 
देशले झण्डै दुई दशक लामो समय द्वन्दको समाना गर्नु प¥यो । राजनीतिक अस्थीरताका कारण देशले विकासको गतीलाई अगाडी बढाउन सकेन । भएका उद्योग कलकारखानाहरु पनि कोही नष्ट भए कोही बन्द भए । हाल देश भरीमै थोरै मात्रामा व्यवसाय र उद्योगहरु सञ्चालनमा छन् । अब मुलुक आर्थिक समृद्धि तर्फ अघि बढीरहेको बेलामा आर्थिक समृद्धिको आधारका रुपमा रहेको सरकारको थ्रि पी को अवधारणा पब्लीक, प्राईभेट पाटनरसीपको योजनालाई सरकारी पक्षबाटै कार्ययोजना सहित व्यवसायिकतामा टेवा पुग्ने किसिमले आउनु पर्छ । अर्को कुरा दार्चुला जिल्ला भरीमा झण्डै अढाइ हजार व्यापार व्यवसायिहरुको सञ्जाल रहेको छ । यसमा हामीले नीजि क्षेत्रबाट गर्नु पर्ने सहयोग र सहकार्यका लागि तयार नै छौँ । मुख्य कुरा दार्चुला जिल्लामै विभिन्न किसिमका उद्योगहरु स्थापना हुनु अहिलेको आवस्यकता हो । त्यसले रोजगारीको सिर्जना गर्नुका साथै व्यवसायलाई विस्तार गर्न मदत गर्छ । र फेरी पनि भन्छुँ दार्चुला जिल्लालाई त्रिदेशीय व्यापार नाकाको रुपमा विकास गर्नु नितान्त आवस्यक छ ।