प्रसिद्ध वनारसी धाममा जात्रा सम्पन्न

७ महिना अघि

२0८0 फाल्गुन ७ सोमबार

प्रसिद्ध वनारसी धाममा जात्रा सम्पन्न

बैतडीको पाटन नगरपालिका वडा नं –३ स्थित प्रसिद्ध वनारसी धाममा जात्रा सम्पन्न भएको छ । हरेक बर्षको माघ शुक्ल दशमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीय हरिदत्त पन्तले जानकारी दिनु भयाे

 । 
अन्य मन्दिरमा ब्राम्हण समुदायका मानिस पूजारी हुने भएपनि यो मन्दिरमा भने दलित समुदायका पूजारी छन् दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्दछन् । वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका पूजारीले पूजाआजाको काम गर्दै आएका छन् ।

यसले जातीय भेदभाव गर्नुहुँदैन भन्ने कुरा सिकाएको पन्तले बताए । दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै जातजातीका दर्शनार्थीहरुले प्रसाद ग्रहण गर्ने चलन रही आएको पन्तले बताए । उनले भने ‘वनारसी धामको जात्रा सामाजिक सदभावको जात्रा हो ।

उक्त जात्रामा बैतडीका मात्रै नभएर टाढाका भक्तजनहरुको समेत सहभागिता रहेको थियो । सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत दर्शनका लागि जात्रामा आउने गरेको पाटन नगरपालिका वडा नं ३ का वडा अध्यक्ष करुणाकर भट्टले बताए ।


वनारसी मन्दिरमा १२ औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ ।