नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

७ महिना अघि

२0८0 फाल्गुन ४ शुक्रबार

नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ । 
नेपालको सिनियर टिमले आईसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दै छ । २ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो । सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यानडा ११ विरुद्ध खेल्ने टोली पनि घोषणा गरेको छ । विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र बिहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ । 

क्यनडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो । त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो । आइतबारदेखि बिहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले बिहीबार राति सार्वजनिक गरेको हो । यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन् ।