बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै नाम ठेगाना खुल्याे

७ महिना अघि

२0८0 फाल्गुन ३ बिहीबार

बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै नाम ठेगाना खुल्याे

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १० जनाकै नाम ठेगाना खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीका अनुसार ज्यान गुमाउनेमा ७ जना पुरुष र ३ जना महिला छन् । दुर्घटनामा रौतहटका नारायणबहादुर भण्डारी, कालीजंग गण गोरुसिङ्गेमा कार्यरत अर्जुनकुमार योगी, कञ्चनपुरका राहुलराम कामी र उमेश भण्डारीको ज्यान गएको पुष्टि भएको छ ।

त्यस्तै, कञ्चनपुरकै भीमदत्त नगरपालिका–१६ की सञ्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, भीमदत्त–२ का सुदीप भट्ट,  भीमदत्त–९ का विसनदत्त भट्ट र पुनर्वासकी विमलादेवी भट्टको ज्यान गएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिनुभयो ।

दुर्घटनामा भारत उत्तर प्रदेशका सकिल मुसलमानको पनि ज्यान गएको छ । महेन्द्रनगरबाट काठमाण्डौ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको रात्रिबस सडकबाट तल खसेको थियो।

प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अरुको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।