बहुविवाह गर्ने पुरुषसँगै महिलाको संख्या पनि बढ्न थाल्याे

७ महिना अघि

२0८0 माघ २६ शुक्रबार

बहुविवाह गर्ने पुरुषसँगै महिलाको संख्या पनि बढ्न थाल्याे

सुदूरपश्चिममा पछिल्लो समय बहुविवाह गर्ने पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। प्रदेशभित्र बहुविवाहमा संलग्न महिलाहरु धमाधम पक्राउ समेत पर्न थालेका छन्। मंगलबार मात्र बहुविवाह मुद्दामा फरार कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ३२ वर्षीया देवकी टमटालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिबाना तोकिएसँगै उनी फरार थिइन्। गत पुस ७ गते मात्र कैलालीमा बहुविवाह मुद्दामा फरार अर्की महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ।

टीकापुर नगरपालिका–१ की २६ वर्षीया माया चौधरीलाई प्रहरीले बहुविवाह मुद्दामा पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीले २०७२ माघ १० गते उनलाई बहुविवाह मुद्दामा ९ महिना ८ दिन कैद र ५ हजार रुपैयाँ जरिबाना तोकेको थियो। त्यसपछि फरार रहेकी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अदालतमा पेश गरेको थियो। उता कञ्चनपुरमा पनि बहुविवाह मुद्दाकी अर्की फरार महिला पक्राउ परेकी छन्।


भीमदत्त नगरपालिका–१४ की कमलादेवी विष्टलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत कञ्चनपुरले २०६६ साल कार्तिक ११ गते बहुविवाह मुद्दामा एक वर्ष कैद र ५ हजार जरिवाना सजाय सुनाएको थियो। यसअघि जिल्लामा बहुविवाह मुद्धामा फरार एक अर्की महिला पनि पक्राउ परेकी थिइन्।

जिल्ला अदालत कञ्चनपुरले २०६७ फगुन १८ गते एक वर्ष कैद र ५ हजार जरिवानको सजाय सुनाएपछि फरार भएकी भीमदत्त नगरपालिका–१९ की २५ वर्षीया माया चन्द पाल पक्राउ परेकी थिइन्। यी त केबल प्रतिनिधी उदाहरण मात्र हुन बहुविवाहमा महिलाको संलग्नता पछिल्लो समय यसैगरी बढ्न थालेको छ। दोस्रो विवाह गर्ने र गराउने महिलाको संख्या बढ्न थालेको प्रहरीकै अध्ययनबाट देखिएको छ।

कानुनअनुसार कुनै पुरुषले पत्नी हुँदाहुँदै अर्की ल्याउन पाउँदैन। तर, कुनै महिलाले पति हुँदाहुँदै अर्कोसँग जान पाउँछे। कानुनले पुरुषको बहुविवाहलाई बर्जित गरेको छ, महिलाको बहुविवाहको हकमा भने मौन छ। पहिला बहुविवाह पुरुषले मात्रै गर्थे। अचेल पुरुषले ल्याउनेभन्दा महिलाले छाड्ने घट्ना बढेका छन्।

सम्बन्ध चित्त नबुझे वा सँगै बस्न नसक्ने अवस्था आए पारपाचुकेको सुविधा छ। त्यसमा पनि महिलालाई पुरुषलाई भन्दा सजिलो छ। त्यो बाटो नअपनाई सुमधुर सम्बन्ध ठानिरहेको पतिलाई छोडेर हिंड्नेको हकमा अझै कडा कानुन बन्न सकेको छैन्। मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान छ।

नयाँ कानुनमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ। यस्तै बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय हुन सक्ने उल्लेख गरिएको छ। उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि समेत अयोग्य हुने स्पष्ट रूपमा उल्लेख गरेको छ। दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट उल्लेख गरिएको छ। तर पनि यस्ता घटना भइनै रहेका छन्।