समयमै काम पूरा गर्ने व्यवसायी र आयोजना प्रमुखलाई पुरस्कृत गर्छौँ : अध्यक्ष प्रचण्ड

५ बर्ष अघि

२0७५ कार्तिक १७ शनिबार

समयमै काम पूरा गर्ने व्यवसायी र आयोजना प्रमुखलाई पुरस्कृत गर्छौँ : अध्यक्ष प्रचण्ड

 दृष्टिीकोण समाचार कार्तिक १७   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरसहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको शुक्रबार निरीक्षणका क्रममा उहाँले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय नहुने र पटकपटक आन्तरिक किचलो हुँदा देशभरका यस्ता आयोजनामा बेलाबेला समस्या देखिएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुद्धको जन्मस्थल हुनुको नाताले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महत्व झन दिनप्रतिदिन बढ्दै गएको छ ।’ विमानस्थल निर्माणको कार्य सन्तोषजनक भएको भएता पनि अझै धेरै काम गर्नुपर्ने रहेको उहाँको भनाई थियो । त्यस अवसरमा आयोजनाका अधिकृत प्रदीप अधिकारीले आयोजनाको बारेमा प्रकाश पार्दै ५५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएको थियो ।अध्यक्ष दाहालसँगै नेकपा महासचिव विष्णु पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री छविलाल विश्वकर्मा, पूर्वसभामुख ओनसरी घर्तीसहित, प्रदेश सरकारका मन्त्री भैरहवा पुग्नुभएको हो । नेपालीको मुख्य पर्व विजयदशमी, दीपावली, छठ, नेपाल संवत्का अवसरमा नेकपाद्वारा शनिबार बुटवलमा आयोजना गरिने शुभकामना कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।