गौशाला २६ ले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिँदैन : अदालत

७ महिना अघि

२0८0 माघ १५ सोमबार

गौशाला २६ ले सन्दीपलाई फसाउनुपर्ने कुनै कारण देखिँदैन  : अदालत

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याती ९स्टारडम०को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर कमाएको ख्यातीको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएर बलात्कार गरेको उल्लेख छ । 

अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । त्यस्तै पीडितलाई जरिवाना बराबरको ३ लाख र सन्दीपबाट थप २ लाख भराउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला पनि गरेको थियो ।

प्रतिकार नगरेकै कारणले अर्को पक्षको मञ्जुरी रहेको अनुमान गर्न नमिल्ने पनि फैसलाको पूर्णपाठमा भनिएको छ ।आर्थिक रुपमा कमजोर रहेको र आर्थिक भरथेगको आशामा पीडितले सन्दीपलाई भेटेको हुनसक्ने भन्दै जिल्ला अदालतले सन्दीपले त्यस्तो विश्वासको दुरुपयोग गरेको औँल्याएको हो । 

‘बलात्कार मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म पीडितको भनाइ नै सर्वाधिक महत्वको प्रमाण हुने हुँदा पीडितले जबर्जस्ती गरेको भनेको अनि पीडित र प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन’, फैसलामा भनिएको छ । 

जिल्ला अदालतले यो घटनामा सन्दीपको करणी गर्ने मनसाय देखिएको ठहर गरेको छ । ‘सन्दीप घटनाको दिनको भोलिपल्ट विदेश जाने योजनामा रहेको देखिन्छ । यस्तो अवस्थामा निजले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलमा नबसी पीडित बसेको कोठामा नै बसेको देखियो’, फैसलामा भनिएको छ, ’प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले प्रतिवादीलाई फसाउनुपर्ने सम्मको कुनै कारण पनि देखिँदैन ।’