कांग्रेसले नागरिकका कुरा सुन्न अभियान सञ्चालन गर्दै, आसन ग्रहण र भाषण नगर्ने

७ महिना अघि

२0८0 माघ १२ शुक्रबार

कांग्रेसले नागरिकका कुरा सुन्न अभियान सञ्चालन गर्दै, आसन ग्रहण र भाषण नगर्ने

नेपाली कांग्रेसले छ हजार सात सय ४३ वटै वडासम्म पुगेर नागरिकका कुरा सुन्न ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गर्ने भएको छ ।माघ १६ अर्थात् शहीद दिवसदेखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेसका पदाधिकारी सात प्रदेशमा खटिएका छन् । सदस्यहरूलाई ७७ जिल्लामा प्रतिनिधि तोकिएको छ ।

यस पटक केन्द्रीय कार्यालयले नेताहरूलाई भाषण गर्न भने रोक लगाएको छ । यो समुदायसँग अन्तरसंवाद गर्ने, गुनासा सुन्ने र सुझाव सङ्कलन गर्ने अभियान भएकाले औपचारिक कार्यक्रम, आसन ग्रहण र नेताले भाषण गर्ने कार्यक्रम नगर्न भनिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यसैबीच समुदायमा कांग्रेस अभियान चलिरहेकै बेला कांग्रेस महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्नुहुने भएको छ । नागरिकका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्तासँग साक्षात्कार गर्न महामन्त्री थापाले पूर्वमा मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लाग्नुभएको हो । औपचारिक कार्यक्रम नगरिकनै हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्न गर्ने थापाको भनाइ छ ।