नागरिक उन्मुक्ति पार्टीमा खैलाबैला

१ बर्ष अघि

२0८0 श्रावण १८ बिहीबार

नागरिक उन्मुक्ति पार्टीमा खैलाबैला

धनगढी । नागरिक उन्मुक्ति पार्टीमा खैलाबैला मचिएको छ। सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीमा खैलाबैला मचिएको हो।

गत वैशाखमा मन्त्रीको आश्वासन पाएपछि प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन्। रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका उनी उपाध्यक्ष हुन्। उनले भने, ‘विवाद मैले ल्याएको छैन। पार्टी भित्र विवाद अरुले ल्याएका हुन्। पार्टीको विधि, पद्धति र मुल्याँकनलाई लत्यायर निर्णय आएपछि विवाद देखिहाल्छ नी।’


चौधरीले पार्टीले पेलेर निर्णय गरेको बताए। प्रदेश सभाका सदस्य तथा पार्टीमा आफ्नो पक्षमा कोही नभएपनि टीकापुरका नागरिक आफ्नो पक्षमा रहेका तर्क उनको छ। प्रदेश सभाका विषयगत समितिमा नबस्ने उनले बताए। पार्टीको राजनीतिमा कनिष्ठहरुलाई मन्त्री पद दिएको तर आफुलाई विषयगत समितिमा बस्न भनेको प्रति उनले असन्तुष्टि व्यक्त गरेका छन्। चौधरीले भने, ‘सहमति थिएन। पार्टी भित्रबाट अपमानित गरिएको छ। मलाई पेलेर निर्णय भएको छ। मेरो पक्षमा कोही छैन। मेरो पक्षमा टीकापुरका जनता छन्। टाउको गनेर हुँदैन। पेलेर लग्दा खेरी, पदिय दुरुपयोग गरेरचाँही आफुलाई लम्पसार पारेर, धाक, धम्की दिएर हुँदैन।’ उनले विषयगत समितिको अफर आएको बताए। उनले भने, ‘ विषयगत समितिको अफर आएको छ। म जाँदैन। सुविधा भोग्न तयार छैन।’ उनले नागरिक उन्मुक्ति पार्टी भित्र टीकापुर विरोधी निर्णय भएको बताएका छन। पार्टीको कोर टिमलाई प्रभावित पार्ने काम भएको तर्कसमेत उनले गरेका छन्। पाँच वर्षसम्म जनप्रतिनिधिविहीन टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको उनले बताए। 


यता नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले पार्टीले लक्ष्मणकिशोरलाई अपमान नगरेको दाबी गरेका छन्। पार्टीले सम्मान गरेर उपाध्यक्ष र प्रदेश सभाको सदस्य बनाएको तर्क पण्डितको छ। उनले भने, ‘पार्टीले सम्मान गरेको छ। उपाध्यक्ष बनाएको छ। टिकट दिएको छ। जिताएको छ। पार्टीले मलाई त केही दिएन। सिनियर भएर, उपाध्यक्ष बनाएको होला। सिनियर भएर टिकट दिएको होला। जुन पार्टीबाट टिकट पाएर जित्नु भयो, उहीँ पार्टीलाई नै लात हान्ने 


नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएको दाबी गरिएको छ। 

उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो। सुदूरपश्चिम प्रदेश प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट सात जना प्रदेश सभा सदस्य छन्। नेपाली काँग्रेसका कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा एक जना मन्त्री र एक राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीबाट छन्।