कोसीले पायो नयाँ सरकार स् कांग्रेसका थापा पुनः मुख्यमन्त्री नियुक्त

१ बर्ष अघि

२0८0 श्रावण १८ बिहीबार

कोसीले पायो नयाँ सरकार स् कांग्रेसका थापा पुनः  मुख्यमन्त्री नियुक्त

सर्वोच्च अदालतको ११ साउनको परमादेशबाट कोसी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका कांग्रेस संसदीय दलका नेता उद्धव थापा मंगलबार पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । 

सभामुख बाबुराम गौतमलाई पदबाट राजीनामा गराई सत्तागठबन्धन दलले नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार थापालाई मुख्यमन्त्रीमा नियुक्त गरे । काठमाडौंमा पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि दिउँसो विराटनगर आइपुगेका सभामुख गौतमले सवा चार बजे उपसभामुख सिर्जना दनुवारलाई राजीनामा बुझाएका थिए । लगत्तै कांग्रेस माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका गरी ४७ सांसदको समर्थनसँगै थापाले प्रदेश प्रमुखसमक्ष पेस गरेका थिए । 

गत १५ असारमा एमालेका हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि २१ असारमा थापा पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यसवेला सभामुख रहेकै अवस्थामा गौतमले थापालाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । सो कदम गैरसंवैधानिक भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै ११ साउनमा सर्वोच्चले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया बदर गर्दै एक साताभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई परमादेश दिएको थियो । 

एमाले भन्छ– हामी अस्थिरताको पक्षमा छैनौँ
थापा पुनः मुख्यमन्त्रीमा नियुक्ति भएपछि एमाले संसदीय दलका नेता कार्कीले आफूहरू मध्यावधि निर्वाचनको पक्षमा नरहेकाले सकेसम्म सर्वदलीय सरकारको पक्षमा रहेको प्रतिक्रिया दिए । ‘एमाले अहिले मध्यावधि निर्वाचनको पक्षमा छैन । त्यसैले हामी उपसभामुखलाई राजीनामा गराएर सरकार अस्थिर बनाउने खेलमा लाग्दैनौँ,’ उनले भने, ‘बरु जसको नेतृत्वमा सरकार बने पनि सर्वदलीय होस् भन्ने पक्षमा छौँ ।’

सभामुखबाट राजीनामा दिएका गौतमले राजनीतिक गतिरोधलाई समाधान गर्न आफूले पदबाट राजीनामा दिएको बताए । यस्तै, मंगलबार नै विराटनगर आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेस मिलेर सरकार गठन गर्न सुझाब दिएका थिए ।