सुन प्रकरण चिनियाँ नागरिक लिन बस्ने घरमा राजस्वको छापा

१ बर्ष अघि

२0८0 श्रावण १३ शनिबार

सुन प्रकरण  चिनियाँ नागरिक लिन बस्ने घरमा राजस्वको छापा

काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन प्रकरणमा मुछिएका चिनियाँ नागरिक जिक्वाङ लिन बस्ने लाजिम्पाटस्थित घरमा छापा मारेको छ ।

विभागको टोलीले बिहीबार लिनको गोदाममा छापा मारेर घडी र रेजर राखिएका सयौं कार्टुन बरामद गरेको थियो । त्यसपछि अहिले लिन बस्ने घरमा छापा मारेको हो ।

यसअघि बुधबार विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा फेला पारेको थियो । कार्टुनमा रहेको सामानहरूको साइज, प्याकिङ, डिजाइन सबै गत २ गते बरामद गरिएको सुनको ब्रेक सुजस्तै देखिएको राजस्व अनुसन्धानको टोलीले जानकारी दिएको छ । रेडी ट्रेडले सुन भित्र्याउने क्रममा ती सामान ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखिएको विभागको भनाइ छ ।

६६ मध्ये करिब एक दर्जन कार्टुनबाहेक सबै खोलेको अवस्थामा रहेको छ । बरामद गरिएको कार्टुनमा सुनको गहना बनाउन प्रयोग हुने साँचो जस्तो देखिने धातुको वस्तु पनि भेटिएको छ । आयात गरेको सुनलाई गहनाका रूपमा दिएर अन्यत्र लैजाने प्रयोजनका लागि यो साँचो ल्याइएको अनुमान गरिएको छ ।

विभागका अनुसार खोलिएका कार्टुन रेडी ट्रेडले पटक–पटक ल्याएको भनिएको सामानमध्येकै हुन सक्ने अनुमान छ । कार्टुनमा भने ‘ब्रेक सु’ नै लेखिएको छ । उक्त कार्टुनमा रहेको सामानको विस्तृत अवस्थाका बारेमा अनुसन्धान भइरहेको छ ।

रेडी ट्रेडले दुई महिनामा १९९७ किलो सामान आयात गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । क्विन्टल सुन बरामद भएको घटनाको छानबिनका क्रममा एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी एजेन्टलगायतका १७ जना पक्राउ परिसकेका छन् । बुधबार बैंक ठगी, सेयर घोटाला र हुन्डीमा विवादित व्यापारी राजेशकुमार अडुकियाको घरमा छापा मारेको थियो । ईमेजखबर