चिनियाँ नेताको नेपाल भ्रमणको स्वार्थ

१ बर्ष अघि

२0८0 श्रावण १३ शनिबार

चिनियाँ नेताको नेपाल भ्रमणको स्वार्थ

चिनियाँ कम्युनिष्ट पार्टी सिपिसी का पोलिटब्यूको सदस्य युआन च्या चुन नेपालको तीनदिने भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिन फिङका विश्‍वासपात्र मानिएका युआनले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, सत्तारूढ दलका, नेता प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख र अन्य दलका नेतासँग वार्ता गरेका छन्।

कोभिड महामारीको सङ्क्रमणका कारण विगत तीन वर्षसम्म चिनियाँ नेताहरुको नेपाल भ्रमण भइरहेको थिएन्। तर नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएयता विगत सात(आठ महिनामा यो क्रम बढेको छ। बाह्य रुपमा उनको नेपाल भ्रमणको प्रमुख उद्देश्य दुबै देशका सरकारबीचको सम्बन्धलाई बलियो बनाउनु देखिन्छ। संसदीय मामिलामा सहकार्य, चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलसँगको सम्बन्धलाई बलियो बनाउनु र दुई देशबीचको जनस्तरको सम्बन्धमा विस्तार ल्याउनु रहेको भनिन्छ।

चिनीयाँ राष्‍ट्रपति सीका महत्वाकांक्षी पहल बिआरआई, जिएसआई, जिसिआई र जिडिआईमा नेपालको सहभागिताको विषयमा पनि आवश्यक चर्चा भएको हुनुपर्छ। चार वर्ष अघि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विभिन्न २० बुँदे समझदारी भएको थियो। ती सम्झौतामध्ये अधिकांश अहिलेसम्म कागजमै सीमित छन्। युआनको नेपाल भ्रमणका क्रममा उपरोक्त सम्झौताको कार्यान्वयनको विषयमा पनि छलफल भएको हो।