सुन प्रकरणमा चिनियाँको नेपाली नेक्सस खोज्दै राजस्व अनुसन्धान विभाग

१ बर्ष अघि

२0८0 श्रावण १३ शनिबार

सुन प्रकरणमा चिनियाँको नेपाली नेक्सस खोज्दै राजस्व अनुसन्धान विभाग

भाग्न लागेको अवस्थामा पक्राउ परेका चिनियाँ नागरिक ज्यास्याङ लिनसँग जोडिएका नेपालीको कनेक्सन खोज्न अनुसन्धान अधिकारीहरुले उनको मोबाइलको कल डिटेल रेकर्ड ९सीडीआर० र उनको डेरा र गोदाम आसपासका क्लोज सर्किट सीसी क्यामरा फुटेज लगायतको विश्लेषण गरिरहेका छन् ।

‘हालसम्म अनुसन्धानका क्रममा फेला परेका सुनसँग जोडिएको कडीमध्ये सबैभन्दा माथिल्लो व्यक्ति उनी नै हुन्, नेपालमा आउने सुनको व्यवस्थापन लिनले नै गर्ने गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न राजश्व अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘उनी मार्फत अन्य व्यक्तिहरुको कनेक्सन खोतल्ने प्रयास गरिरहेका छौं ।’

लिनले नै उपत्यकामा सुन राख्नका लागि विभिन्न ठाउँमा घर र गोदाम भाडामा लिएको खुलेको अधिकारीहरु बताउँछन् ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।

विभागका एक अधिकारीका अनुसार, सुन सहितको सामग्री बरामद गरेपछि हङकङबाट सुनसहितको ‘ब्रेक शु’ मगाउने रेडी ट्रेड प्रा।लि। का सञ्चालक दोलखाका २१ वर्षीय दिलीप भुजेललाई चाबहिलबाट पक्राउ गरिएको थियो ।

सामान्य मजदुरी गर्ने उनले २० हजार रुपैयाँ पाउने भएपछि आफ्नो नागरिकता मामा रामकुमार भुजेललाई दिएको बताएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, त्यसपछि रामकुमारलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राईको नाम लिएका थिए ।

बूढानीलकण्ठमा बसेका राईको खोजीमा नेपाल प्रहरीको विशेष टोली खटिएको थियो । स्रोतका अनुसार, उनलाई पक्राउ गरेका बेला एक जना भारतीय नागरिकको फोन आइरहेको थियो ।

‘थाप्तेन नाममा सेभ गरिएको नम्बरबाट तारन्तर फोन आएपछि उनलाई त्यतै बोलाउन भनेका थियौं, र्‍यान्डम्ली बोलाएर सोधपुछ गर्दा उनी पनि सुन तस्करी गिरोहकै सदस्य भएको खुल्यो’, एक सुरक्षा अधिकारी भन्छन्, ‘त्यसपछि थाप्नेतलाई पनि विभागको जिम्मा लगाएका थियौं ।’

स्रोतका अनुसार, तिब्बती मूलका भारतीय नागरिक थाप्तेनले सुनको डेलिभरी लिने जिम्मा पाएको देखिएको छ । विभागका अधिकारीहरुका अनुसार, नेपाल भित्रिएको सुन भारतसम्म पुर्‍याउने लेयरमा थाप्तेनको संलग्नता हुनसक्छ ।

थाप्तेनको बयानका आधारमा ४ साउन राति ३ बजे बालुवाटारस्थित एक गोदामसम्म राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोली छापा हानेको थियो । त्यसक्रममा त्यो घर चिनियाँ नागरिकले भाडामा लिएको खुलेको थियो ।