काठमाण्डौ । साउन महिनाको पहिलो सोमवार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।
आज पशुपतिनाथलगायत तनहुँको देवघाट, कास्कीको सीताघाट, गोकर्णेश्वर, वाणेश्वर, नागेश्वर, डोलेश्वर, सिद्धबाबा लगायत देशभरका शिवालयमा भक्तजनको भिड छ । आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।
विशेषगरी आज शिवालयमा सोमवारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र लगायतका शिवालय ढाकेका देखिन्छन् ।
सौरमासअनुसार आजको सोमवार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याइ पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ । भगवान शिवले शुद्ध जल रुचाउने भएकाले बाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भिड लागेको हो ।