रास्वपा रुपन्देहीको विवाद कुटपिट र सदस्यता खारेजीसम्म

१ बर्ष अघि

२0८0 असार ३१ आईतवार

रास्वपा रुपन्देहीको विवाद कुटपिट र सदस्यता खारेजीसम्म

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा  रुपन्देहीमा विवाद देखिएको छ । पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको छ ।
पार्टीको र्‍यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्दा प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू बिरुद्ध कुटपिटको उजुरी दिएको बताए ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी खत्रीले पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन घिमिरे, ज्ञवाली र तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको बताए ।

पार्टी विधानको धारा १३ ङ मा सरकारी विद्यालयमा पढाउने ब्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहिया स्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफुमाथि कुटपिट भएको बताए ।

प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैंले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको विरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको खत्रीको आरोप छ ।