नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद सकिन करिब ढेड महिना बाँकी रहेको छ । पछिल्लो पटक थपिएको म्याद आगामी भदौ ११ गते सकिँदै छ । यो अवधिमा आयोजनाको पूर्वी खण्डमा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डको ६५ किलोमिटरमा ४० प्रतिशत काम सम्पन्न गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर धिरज ढकालले बताए । पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका काम भइरहेका छन् ।
पूर्वी खण्डमा रहेका १२ ठूला पुलमध्ये नौ वटामा सब स्ट्रक्चरको काम सकिएको, दुईमा सब स्ट्रक्चरको काम हुँदै र एउटामा फाउन्डेसनको काम चलिरहेको छ । सो खण्डमा रहेका २२ साना पुलमध्ये २१ मा काम सुरु गरेकामा १८ पुलको दुवैतर्फको काम सकिएको छ । तीनमा एकतर्फी काम सकिएको हो । विगत वर्षमा वर्षामा डाइभर्सनमा क्षति पुग्दा राजमार्ग बन्द हुने अवस्था रहेका पनि अहिले त्यो समस्या छैन् । अहिले सबैजसो स्थानमा पुलबाटै गाडी सञ्चालन गर्ने अवस्था रहेको छ । कतै–कतै कल्भर्ट भएका स्थानमा केही समस्या देखिए पनि वर्षामा यातायात सञ्चालनमा ठूलो समस्या नपर्ने देखिन्छ ।
निर्माण कम्पनीले पहिलो पटक थप गरिएको म्याद सकिन लाग्दा करिब दुई वर्षका लागि म्याद थपको प्रस्ताव गरेको छ । विसं २०७९ साउनमा निर्माण सम्झौताको पहिलो म्याद सकिएपछि विसं २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । यस अवधिमा काम सम्पन्न हुन नसकेपछि आयोजनाले करिब दुई वर्ष म्याद थपको प्रस्ताव गरेको हो ।